Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मेरै नेतृत्वमा राष्ट्रिय सरकार: प्रधानमन्त्री भट्टराई

विनोद धौलागिरि / एचकेनेपाल डट कम-
अर्घा (अर्घाखाँची), १३ कार्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन्।

“अन्तरिम सविधान अनुसार वैधानिक ढंगले अर्को सरकार बनाउने अर्को बाटो छैन”, कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार अर्घाखाँचीको अर्घामा एकीकृत नेकपा माओवादीले आयोजना गरेको जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अन्तरिम संविधान अनुसार गठन भएको सरकारले राजीनामा दिएपछि अर्को सरकार गठन गर्ने वैधानिक प्रावधान छैन।” प्रधानमन्त्रीको राजीनामापछि मात्र सहमतिमा जान सकिने प्रतिपक्षीहरुको भनाइतर्फ इंगित गर्दै प्रधानमन्त्री भट्टराईले प्याकेजमा सहमति गरी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकारको गठन गरेरमात्र नयाँ निर्वाचनमा जान सकिने स्पष्ट पारे।

कार्तिक महिनाभित्र नै राजनीतिक संकटको निकास निस्कनेमा आशावादी हुँदै प्रधानमन्त्री भट्टराईले भने — “दलहरुबीच घनिभूत छलफल भैरहेको छ, तिहारअघि नै निकास निस्कनेमा म विश्वस्त छु।” राजनीतिक र वैधानिक संकट समाधानका लागि आफूहरुले छोटो अवधिका लागि संविधानसभाको पुनःस्थापना र नयाँ निर्वाचन दुबै विकल्प खुल्ला राखेको समेत उनले बताए। “हामीले दुबै विकल्प खुल्ला राखेका छौं”, प्रतिपक्षी दलहरुतर्फ लक्षित गर्दै उनले भने, “कुनै नयाँ विकल्प भए ल्याउनुहोस्, छलफल गर्न हामी तयार छौं।”

राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलहरु उत्तिकै जिम्मेवार भएकोतर्फ औंल्याउँदै प्रधानमन्त्री भट्टराईले राजनीतिक तरलताको अवस्थामा दलहरु मिलेर जानुको विकल्प नभएको समेत बताए। “अहिले हामी एउटै डुंगामा यात्रा गरिरहेका छौं, डुंगामा प्वाल परेमा हामी सबै डुब्छौं।”

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by