Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लोक दोहोरी प्रतियोगितामा रमेशले बाजी मारे

बुधबल गुरुङ /एचकेनेपाल डट कम-
दोहा–कतार, २९ अक्टोबर । ऐतिहासिक रुपमा विदेशमा नै पहिलो पटक आयोजित खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ मा प्र्रवासी नेपाली साँगीतिक परिवार बी का रमेश परियारको समूह प्रथम भएको छ। ग्राण्ड फिनाले अल अरबी स्पोर्ट क्लवको हलमा शनिवार भब्यताका साथ सम्पन्न भएको हो।

प्रतियोगितामा नव प्रतिभा समूह (स्याङ्गजा सहयोग समाज कतार) का समूह द्धितीय र फेवा सांस्कृतिक परिवार (कास्की आदर्श सेवा समाज) को समूह तृतीय भए भने प्रवासी नेपाली सांंगितिक परिवार– ए ले सान्त्वना पुरस्कार प्राप्त गरे। दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियाल २ हजार ५ सय र ट्रफि, द्वितीय हुनेलाई कतारी रियाल १ हजार ५ सय र ट्रफि, तृतीय हुनेलाई कतारी रियाल १ हजार पुरस्कार र ट्रफि सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कुल २४ समूहहरुबीच भएको प्रतिष्पर्धाबाट उत्कृष्ट चार समूहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको ग्राण्ड फिनाले कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत डा. माया कुमारी शर्मा हुनुहुन्थ्यो। प्रमुख अतिथिको आशनबाट बोल्दै डा. शर्माले कतारवासी नेपालीहरुलाई स्थानिय कानुनको अधिनमा रही कार्यरत रहन आग्रह गर्नु भएको थियो। शर्माले नेपाली लोक संस्कृति संरक्षण गर्न सक्रिय संस्था तमू समाज कतारलाई शुभकामनासहित धन्यवाद दिनुभएको थियो।

लोक दोहोरी गीत प्रतियोगितामा प्रतियोगी समूहहरुले लोक गायिकाहरु देवी घर्ती र राधिका हमालसंग दोहोरी गाएका थिए। कार्यक्रममा लोक गायिकाहरु देवी घर्ती, राधिका हमाल र देविका के.सी., बरिष्ठ लोक गायक दुर्गा रायमाझी, हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), कतारमा स्थापित नेपाली ब्याण्ड द रेन्ज र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुले आआफ्नो प्रस्तुतीहरु प्रस्तुत गरेको थिए।

कार्यक्रमको प्रमुख निर्णायकमा लोक गायिका देविका के.सी. गुरुङ र बरिष्ठ लोक गायक तथा नेपाल लोक दोहारी प्रतिष्ठानका निवर्तमान अध्यक्ष दुर्गा रायमाझी थिए। त्यसै गरी पर्यवेक्षक समितिमा संयोजकमा समाजसवी कमलमणी गुरागाई, समाजसेवी राजेशदर्शन अर्याल र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङ्ग रहेका थिए। त्यसै गरी एनआरएन आईसीसीका सचिव टी.बी. कार्की, एनआरएन आईसीसी मध्य पुर्व संयोजक नरेन्द्र भाट, एनआरएन एनसीसीका कार्यवाहक अध्यष गुरुनारायण रानाभाट, समाजसेवी तथा नेपाली समाजका अगुवा सागर, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष रबी रोषी, नेपाल जनसंपर्क समितिका अध्यक्ष विमल सुवेदी, क्षेत्री समाजका अध्यक्ष हंसराज क्षेत्री, नेपाल नेपाल प्रवासी जनजाति महासंघ कतारमा मातृसंस्थाका प्रतिनिधीहरुको कार्यक्रममा उपस्थित थिए । उपस्थित अतिथीहरुलाई तमु समाज कतारका महिला सदस्य पुनम तमू तथा कल्पना तमुले खादा लगाई दिएका थिए।

खुल्ला नृत्य प्रतियोगिता २००८, गैरआवासीय नेपाली तारा – २०१०, गैरआवासीय नेपाली तारा – २०११ जस्ता कार्यक्रमहरु सम्पन्न गरि सकेको यस संस्थाले आयोजना गरेको अघिल्लो कार्यक्रमहरु जस्तै यस कार्यक्रम पनि अत्यन्तै सफल र मनोरन्जनातमक भएको दर्शकहरुले बताए।

कार्यक्रम तमू सांस्कृतिक परिवार कतारका कार्यबाहक अध्यक्ष बीरु तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औपचारिक कार्यक्रम तमु समाज कतारका अध्यक्ष बिमल तमू र सांस्कृतिक तथा दोहोरी कार्यक्रम सञ्चारकर्मी निराजन भण्डारी र सोभिात सिंखडाले सञ्चालन गरेका थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by