Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यस कारणले एमाले छाडियो…

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २३ अक्टुबर । नेपालमा राष्ट्रिय वैकल्पिक राजनैतिक शक्ति निर्माणको लागि गठन भएको अग्रगामी विचार समूहलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले हङकङका १ सय २१ कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

सुदूरपूर्वी प्रवासी नेपाली संघ–फियोना हङकङको कार्यालयमा आइतवार आयोजित पार्टी परित्याग कार्यक्रममा एमाले हङकङ कमिटिका निवर्तमान अध्यक्ष तथा वर्तमान सदस्य ओमराज सम्बाहाम्फेले ३१ संगठित सदस्य र ९० सक्रिय कार्यकर्ताको नाम घोषणा गरेका थिए।

कार्यक्रममा वाचित विज्ञप्तिमा एमालेले आपूmलाई पहिचान र संघीयताको विपक्षमा उभ्याएको कारण संविधानसभा विघटन भएको आरोप लगाइएको छ। विज्ञप्तिमा पहिचानसहितको संघीयताको पक्षमा दुई तिहाई रहेको अवस्थामा आफ्ना सभासद्हरुलाई विपक्षमा उभिन निर्देशन दिएको र संविधानसभाको बैठक संचालनमा कुनै पहल नगरेको उल्लेख गरिएको छ।

परित्याग कार्यक्रममा एमाले हङकङ कमिटिका नेता तथा कार्यकर्ता । तस्बिरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

संविधानसभा विघटनमा एमालेसंगै नेपाली कांग्रेसलगायतका दलको पनि भूमिका रहेको र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी र मधेशी मोर्चा संविधान जारी गर्नमा संवेदनशील नभएकोले नेपालमा अग्रगामी सोचसहित नयाँ राजनैतिक शक्तिको अपरिहार्यता रहेको विज्ञप्तिमा छ।

विज्ञप्तिको अन्तमा नयाँ राजनैतिक शक्ति निर्माणको लागि एमालेका उपाध्यक्ष अशोककुमार राईको संयोजकत्वमा गठन भएको अग्रगामी विचार समूहलाई समर्थन गर्दै पार्टी परित्याग गरिएको बताइएको छ ।

कार्यक्रममा भक्त दुराले एमालेको अस्पष्ट विचार र ढुलमुले नीतिका कारण धेरै अघिदेखि आफू निस्क्रिय रहेको बताउदै संविधानसभामा पार्टीको रवैया देखेर परित्याग गर्न बाध्य भएको बताएका थिए।

मणिकिरात बान्तवाले पार्टीले घिउ देखाएर कार्यकर्ताको मुखमा पिडालु कोचिदिएको बताए। त्यसैगरि हेजेन राईले नहुने आश्वासन दिएर एमालेले कार्यकर्तालाई भुलभुलैयामा राखेको आरोप लगाएका थिए।

फियोनाका उपाध्यक्षसमेत रहेकी माया राईले कार्यकर्ताको भावना नबुझ्ने पार्टीमा बस्न मनले नमानेको बताइन्। कार्यक्रम संचालक फियोनाका प्रवक्ता इन्द्र वनेमले ब्राह्मणवादी सोच र तथाकथित उच्च जातीय अहंकारबाट ग्रसित एमालेबाट वर्गीय तथा जातीय मुक्ति असंभव रहेको जिकिर गरेका थिए।

निवर्तमान अध्यक्ष सम्बाहाम्फेले पार्टी अन्तर्संघर्षको कुनै गुञ्जायस नरहेपछि परित्याग गर्नु परेकोमा जोड दिंदै कोही पनि पुनः एमालेमा नफर्कने दावी गरे। विज्ञप्ति निवर्तमान सल्लाहकार समितिका अध्यक्ष किसन राईले वाचन गरेका थिए।

परित्याग गर्नेमा पार्टीको सहयोगी संस्थाको रुपमा रहेको फियोनाका सदस्य मणिराज लिम्बू, जीवन पोमू, जीवन राई महिला विभागका सदस्यद्वय लिला राई र शोभा मगर र हङकङ हिमायतीका अध्यक्ष शिव सुब्बा, उपाध्यक्ष किशोर श्रेष्ठ, सहसचिव देवमान लिम्बूलगायत रहेका छन्।

– पार्टी त्याग गरेका संगठित सदस्यहरुको नामावली
– पार्टी त्याग गरेका समर्थकहरुको नामावली

(द्रष्टव्यः नामावलीमा नाम थप वा घट गर्नुपरेमा कृपया अग्रगामी विचार समूहसंग सम्पर्क राख्नुहोला। प्रकाशित समाचार तथा नामावली पुनः संशोधन गरिने छैन। धन्यवाद, सं.)

यो पनि हेर्नुहोस्: हङकङबाट एमाले पार्टी परित्याग

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by