Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बादल प्रधानमन्त्रीको उमेदवारः अध्यक्ष बैद्य

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, ६ कार्तिक । नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बैद्य निवास मनमैजुमा गरेको विशेष साक्षात्कारमा उनले भने–नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै काग्रेससहितकाको कसैको पनि नेतृत्व हामी मान्दैनौ । हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नु पर्छ । यो हाम्रो दावी हो । कसैलाई टिको लगाएर दिन सकिदैन।

साक्षात्कारमा अध्यक्ष बैद्यले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले काग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकोले समस्या समाधान नभएको दावी गर्दै सरकारलाई नै केन्द्रमा राख्दा सम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे।
प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उनले अहिले दलहरुवीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरुवीच छलफलको आवश्यकतामा जोड दिए।

संविधानसभाको पुनःस्थापना र निर्वाचन दुबै विकल्पमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अन्र्तबस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नु पर्ने उनको प्रस्ताव थियो। गोलमेच सम्मेलनको अडान ब्यक्त गर्दै आएका उनले यसकोलागी सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुवीच छलफल हुनु पर्ने नयाँ प्रस्ताव गरे। यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकोले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयूक्त हुने धारणा राखे।

सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको भन्दै काग्रेस र एमालेले सडक आन्दोलन सुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे।

उनले भने–काग्रेस र एमाले नाङलो र सुपो ठटाएर हात्ति तर्साउने जस्तो गरेर भाषणबाट प्रधानमन्त्री तर्साउने योजनामा छन्। मलाई उनीहरुले आन्दोलन गर्लान जस्तो लाग्दैन। यदि सडक आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा टिकिरहन पहिला निर्वाचन र पछि संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको आरोप लगाउँदै भने–२५ वर्षसम्म सत्ता बचाउने रणनीति भएको त प्रचण्डले नै भनिसकेका छन् नि।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by