Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रतियोगितामा धांधली ?

आनन्द श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, १ कार्तिक । गत शनिबार धरानमा सम्पन्न चौथो राष्ट्रिय मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा आयोजक पक्षले ग्याम फिक्सिङ्ग गरी रामबहादुर दाहाललाई मिष्टर हिमालय बनाएकोमा नेपालका बरिष्ठ शारीरिक सुगठनका निर्णायक तथा खेलाडीहरुले असन्तुष्टि प्रकट गरेका छन्।

प्रतियोगितामा भएको धांधलीको राष्ट्रिय खेलकुद परिषदले अविलम्व छानविन गरी प्रतियोगिता रद्ध गर्नु पर्ने माग गर्न थालेका छन्।

प्रतियोगिताको अन्तिम चरणको प्रतिष्पर्धामा दुई पटकको धर्म श्री, मिस्टर नेपाल र मिस्टर हङकङको उपाधि जितिसकेका हेब्बी वेट (८० के.जी.भन्दा माथिका) सानु गुरुङलाई छाडेर ६५ केजी समूहका दाहाललाई विजेता घोषणा गरेपछि खेलाडी दर्शक र वरिष्ठ निर्णायकहरुले शंका व्यक्त गरेका हुन्।

प्रतियोगिताका अन्तिम छनौटमा ७ जना निर्णायक मण्डलमध्ये मुख्य निर्णायकमा शिवलाल श्रेष्ठ र घनश्याम मुखिया रहेका थिए। मिष्टर हिमालय चयन भएका रामबहादुर दाहाल व्यायाम मन्दिर, ज्याठा काठमाडौंबाट खेलेका थिए भने मुख्य निर्णायकहरुलगायत सो प्रतियोगिताका अधिकांश आयोजक सदस्यहरु नै सोही क्लबसंग सम्वन्धित भएकाले निर्णयमा स्वतः घाँधली भएको उनीहरुको आरोप छ।

मुख्य निर्णायकद्वय श्रेष्ठ र दाहाल शारीरिक सुगठनको निर्णायक गर्ने प्रमाणपत्र पनि नपाएका र ६० वर्ष नाघिसकेकाले त्यस्ता व्यक्तिले निर्णायक मण्डलमा राख्नु नै शारीरिक सुगठन समितिको नियम विपरीत भएको नेपालका वरिष्ठ निर्णायक राजभगत प्रधानाङ्ग बताउंछन्। विश्व शारीरिक सुगठन समितिको नियम अनुसार ६० वर्ष नाघेका व्यक्तिले निर्णायक मण्डलमा बस्न नपाउने प्रावधान रहेको छ।

कुनै पनि मिस्टर उपाधिको लागि खेलाडीको मसल प्रदर्शन मात्र राम्रो भएर हुदैन त्यो खेलाडीको उचाइ अनुसारको जिउडाल, अनुशासन, प्रदर्शन गर्ने कला र खेलाडीको पृष्ठभूमि पनि हेर्ने गरिन्छ। यदि मसल मात्र देखाएर उपाधि जितिने भए त भारी बोक्ने कुल्लीको पनि मसल त राम्रै हुन्छ नि भन्दै प्रशिक्षक प्रधानाङ्ग मिष्टर हिमालयको खेल कुन नियम अन्तर्गत खेलाइएको हो कसैलाई जानकारी नदिएकोले यसैमा शंका लागेको बताउछन्।

मिष्टर हिमालय बनाइएका दाहाल ६५ के.जी. समूहका विजेता थिए भने सानु गुरुङ ८० के.जी. माथिका समूहबाट भिडेका थिए। प्रहरीमा जागिर खादाखादै अनुशासनहिन काम गरेका अभियोगमा प्रहरीबाट निकालिएका दाहालले दश कक्षा पनि पास नगरेकाले आगामी वर्ष अरब मुलुकमा दिइने प्रशिक्षणमा पनि उनलाई भाषाको समस्याको कारण पठाउन अप्ठ्यारो पर्ने भएको राष्ट्रिय खेलकुद परिषद्का एक पदाधिकारी बताउछन्।

अन्तिम चरणको खेल प्रदर्शनीको क्रममा दाहालले प्रतिद्वन्द्वी सानु गुरुङलाई “त म संग सक्दैनस् मेरो ज्यान हेर” भन्ने जस्ता हातले सङ्केत गरेर व्यवसायी रेसलर खेलाडीहरुले जस्तै स्टेजमा दुरव्यवहार गरेका थिए। कसैले पनि अर्को प्रतिद्वन्द्वी खेलाडीमाथि मानसिक असर पर्ने गरी भाषा वा संकेतले धम्की दिने वा गाली गलौज गर्न पाउदैन। त्यस्ता खेलाडीलाई तत्कालै अंक घट्ने वा खेलबाटै निस्कासित गर्न सकिने प्रावधान रहेको प्रशिक्षक राजभगत प्रधानाङ्ग बताउंछन्। त्यो ठूलो अनुशासनहीन घटना हो । तर त्यस्तो गम्भीर घटनालाई ढाकछोप गर्दा आगामी खेलहरुमा पनि त्यसको नराम्रो असर पर्नेमा उनले चिन्ता व्यक्त गरे। यस वारेमा वुझ्न नेपाल वडिविल्डीडं संधका महासचिव दिनेश राजभण्डारी र अध्यक्षसंग वारम्वार टेलिफोन गर्दा पनि फोन सम्पर्क हुन सकेन।

सानु गुरुङले जित्ने आशाका साथ उनलाई हेर्न मात्र ठूलो संख्यामा आएका दर्शक दीर्घाबाट उनको पक्षमा नाराबाजी गरेका थिए तर गुरुङको नाम नआएपछि समर्थकहरु निराश हुनुको साथै एक छिनपछि होहल्ला मच्च्याएका थिए। छनौटमा धाँधली भएकै कारण असुरक्षित महसुस गरी आयोजकहरुले नै विजेता रामबहादुर दाहाललाई मञ्चबाट नै प्रहरीलाई स्कटिङ गर्न लगाई होटलसम्म पु¥याएका थिए।

प्रतियोगितामा आयोजक पक्षबाट भएको धाँधली र विजेता रामबहादुर दाहालबाट प्रतिद्वन्द्वी खेलाडीलाई मञ्चमा नै जिस्क्याएकोमा दाहाललाई कार्वाही गर्नुपर्ने र निर्णायक मण्डलमाथि राष्ट्रिय खेलकुद परिषदले छानविन गर्नुपर्ने माग राख्दै सहभागी खेलाडीहरुले निवेदन दिने तयारी गरेको कुरा खेलाडीहरुले बताएका छन्।

खेल अवधिभरि रहेका राखेपका सदस्य सचिव युवराज लामाले पनि त्यहाँ भएको दुव्र्यवहारको प्रत्यक्षदर्शी भएकाले त्यस्ता खेलाडीलाई कार्वाही हुन्छ कि हुदैन त्यो भने हेर्न पर्ने छ भनी धरान बडी बिल्डिङ संघका अध्यक्ष हर्क लिम्बू बताउँछन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by