Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिको निर्णयबाट कार्तिकभित्रै नयाँ सरकारः महामन्त्री सिटौला

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ असोज । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुवीच सहमति नभए राष्ट्रपतिको निर्णयबाट कार्तिक भित्रमै नयाँ सरकार गठन हुने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले दलहरुले सहमति नगरे राष्ट्रपतिले संविधानको संरक्षकको नाताले कदम चाल्न बाध्य हुने भन्दै राष्ट्रपतिको निर्णयबाटै कार्तिक भित्र नयाँ सरकार गठन हुने ठोकुवा गरे।

साक्षात्कारमा सिटौलाले भने–बाबुराम भट्टराई नेतृत्वको सरकारले मंसिर देख्दैन। सहमति भए पनि नभए पनि कार्तिकमा नयाँ सरकार आउँछ। मुलुक अब लामो समयसम्म बन्धक रहनै सक्दैन। राष्ट्रपतिले सार्वजनिक रुपमै चुप लागेर नबस्ने संकेत गरिसक्नु भयो। अब दलहरुवीच सहमति भए पनि नभए पनि राष्ट्रपति कदम चाल्न बाध्य हुनु हुन्छ।

संविधानसभा बचाई राख्न काग्रेसले पटक पटक प्रयास गरे पनि माओवादीले नमानेको कारण अन्तत आफूहरु निर्वाचनमा जाने निर्णयमा पुगेको भन्दै अब फेरि काग्रेस पुनःस्थापनाको माओवादीको हावादारी कुरामा नअल्झिने स्पष्ट पारे।

उनले काग्रेसले विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न पुनःस्थापना गर्नु पर्छ भनि लिएको विषयमा माओवादीले राजनीति गरेको भन्दै काग्रेस अब पुनःस्थापनाको हावा खेलमा नअल्झिने बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संविधानसभा पुनःस्थापानको प्रस्ताव संविधान बन्न पनि नदिने, निर्वाचन पनि हुन नदिने र सत्ताको आयु बढाउने चाल मात्रै भएको सिटौलाले ठोकुवा गरे। उनले भने– प्रचण्डजीको बोलीको विश्वास छैन। अहिले पुनःस्थापनाको कुरा गर्ने प्रचण्डले बेल्जियमबाट फर्केपछि हेर्दै जानुस् फेरि कुरा फेर्छन्।

सिटौलाले अब आगामी बैशाखमा संविधानसभाको भूमिकासमेत निर्वाह गर्ने गरी संसदको निर्वाचन गर्न सबै तयार हुनु पर्ने भन्दै अबको दलहरुको छलफल सहमतिको सरकार गठन, निर्वाचन र निर्वाचनको मितिको विषयमा केन्द्रीत हुने समते दावी गरे।

माधवकुमार नेपाल र झलनाथ खनालले संविधान सभा जोगाउन सत्ता छाडेको तर संविधानसभाको जननी भन्ने बाबुराम भट्टराईले सत्ता बचाउन संविधानसभाको हत्या गरेको दावी गर्दै सहमति भए कुर्सि छाड्छु भन्ने प्रधानमन्त्रीले नै सहमति हुन नदिएको आरोप लगाए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by