अरुण चाम्लिंग राई / एचकेनेपाल डट कम-
लिस्बोन पोर्चुगल, अक्टोबर १२। लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी… गीत शुरु गर्नासाथ सयौं युबा युवती चर्चित गायक धिरज राई नजिक स्टेजमा पुगेर नृत्य गर्न र स्वरमा स्वर मिलाएको दृश्य साच्चै हेर्न लायक थियो।
यसै हप्ता पश्चिम दक्षिणमा अबस्थित सानो यूरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बोनस्थित बेको डे साओ लुईस पेनामा किरात समाज पोर्चुगलद्वारा आयोजित प्रबेश र ग्रील पार्टीसमेत निशुल्क गरिएको धिरज राई सांगीतिक साँझको क्षण हो।
पोर्चुगलको इतिहासमै एकै दिन, एकै शहरमा दुइतिर नेपालबाट आएका कलाकारहरूको छुट्टाछुटै कार्यक्रम। एकातिर धिरज राई अर्कोतर्फ यसकुमारलगायत तीनजना। धिरजको कार्यक्रममा निशुल्क ग्रील पार्टी र प्रवेश भएकाले पनि दर्शक अत्यधिक भएको आयोजकको दाबी रहेकोछ।
पप गायक धिरजले सो एकल साँझमा लुकीलुकी, प्रियसीका..,ए नानालगायत नौ वटा गीतहरू प्रस्तुत गर्दै भरपूर मनोरञ्जन दिदै सबैलाई नृत्य गर्न बाध्य पारेका थिए।
एेतिहासिक र पहिलो पटक पोर्चुगलमा आयोजित धिरज राई एकल साँझको धमाका साच्चै नै यथार्थमा अमिट छाप छाड्न सफल भएको थियो।
कलेजमा प्राध्यापन पेशामा समेत संलग्न रहेका उनको पहिलो यूरोपको सांगीतिक यात्रा भएकोले पनि धेरै दर्शक र श्रोताहरूको मन जित्न सफल भएका छन्।
झण्डै४ सयको हाराहारीमा उपस्थित दर्शक उनको गीतमा बेको पेना स्ट्रीटनै उचाल्ने गरी नृत्यमा रमेका देखिन्थे भने लिस्बोन शहरनै उनको सांगीतिक कार्यक्रमले गुञ्जायमान भएको आभास मिल्थ्यो।
जनजाति महासंघ पोर्चुगलका पूर्व अध्यक्ष एबम किरात समाज पोर्चुगलका अध्यक्ष गणेश याखाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मगर समाज पोर्चुगल, तमू समाज, थकाली समाज, नेवा पुच,तामांग समाज, शेर्पा किदुक पोर्चुगलका प्रतिनिधिहरू तथा उपस्थित सबैलाई समाजका सल्लाहाकार बीबी सुब्बाले स्वागत गरेका थिए भने कार्यक्रम जनजाति महासंघ पोर्चुगलका पूर्व अध्यक्ष एबम समाजका उपाध्यक्ष नरभूपाल राईले सञ्चालन गरेका थिए।
डेनमार्कको कोपेनहेगनमा गत ३० सेप्टेम्बरमा सफलताका साथ कार्यक्रम सम्पन्न गरी लिस्बोन पोर्चुगल आएका पप गायक धिरज राईको अर्को प्रस्तुति नेदरल्याण्डको वील शहरमा १३ अक्टोबरमा हुदैछ।
त्यसपछि आफ्नो सांगीतिक प्रस्तुति लुभेन बेल्जियममा १४ अक्टोबर पस्कने छन् भने बार्सिलोना स्पेनमा १६ अक्टोबर, २१ मा जेनेभा स्वीटजरल्याण्ड, २७ मा पेरिस फ्रान्स त्यसपपछि १७ नोभेम्बरसम्म हामबर्ग, म्युनिख, मुन्स्टर लगायत ६ शहरमा धिरज राई एकल साँझ गर्ने निश्चित भएको उनका प्रायोजकले बताएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b