Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धर्म निरपेक्षताको भावनाविरुद्ध दशैं तिहारः देब गुरुङ

एचकेनेपाल डट कम संवादाता-
काठमाडौ, २५ असोज । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले दशै तिहार जस्तो हिन्दू चाडपर्वलाई राज्यले बढावा दिनु धर्म निरपेक्ष राज्यको सिद्धान्त विपरित भएको बताएका छन्।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा काठमाडौ जिल्ला शाखाले विहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको हिन्दू सस्कृतिः दशै र दलित विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरुङले हिन्दू सँस्कृतिहरु सामान्तवादको प्रतिनिधि भएको आरोप लगाए।

उनले नेपालको दलित विभेद सस्कृति र धर्मको उत्पीडनको उपज भएको भन्दै यसविरुद्ध जनचेतना फैलाउन जरुरी भएको बताए। उनले साँस्कृतिक उत्पीडनलाई आन्तरिक सामान्तवद र राष्ट्रिय स्वाधिनतासँग जोडेर समाधान खोजिनु पर्ने भन्दै यसका लागि बहस, आन्दोलन र साँस्कृतिक आन्दोलनको आवश्यकता रहेकोमा जोड दिए।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले हिन्दू विचार र धार्मिक परम्परा नै दलित समस्याको कारक भएको भन्दै हिन्दू धर्मको प्रभुत्व समाजमा रहुन्जेलसम्म दलित समस्या पनि रहिरहने ठोकुवा गरे।

उनले दलित समस्या विचारसँग जोडिएको समस्या भएकोले यसको उन्मुलनको लागि राजनीतिक र बैचारिक आन्दोलनको आवश्यकता भएकोमा जोड दिए। परियारले जहिले पनि सत्ताधारीले आफ्नो सँस्कृति लद्न खोज्ने भएकोले सत्ता प्राप्ति पनि दलितहरुको लागि लक्ष्य बन्न पर्ने बताए।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पाँचौ सम्मेलन आयोजक समितिका संयोजक रणेन्द्र बराईलीले सबै चाडपर्व दलितलाई मुन्टो ठड्याउन नदिने उठाउन खोजे सामाजिक, आर्थिक, धार्मिक सबै हिसावमा ठहरै पार्ने षडयन्त्र भएको बताए। उनले पीडकहरुले उत्पीडित महिलाको हातबाट उत्पीडितलाई बध गराएर विजय मनाएकोले यस्तो पर्व मान्न नहुने तर्क गरे।

प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले जनयुद्धले दलित विभेद सम्बन्धी धेरै कुरा परिवर्तन गरेको भन्दै दलित विभेद परिवर्तन कथा कविता मार्फतभन्दा पनि आन्दोलनको आँधी बेहरीबाट परिवर्तन गर्नु पर्ने बताए। उनले दलित आन्दोलन एनजीओ खेतीमा अल्झिएको आरोप लगाउँदै झिना मसिना कुराबाट माथि उठेर नेतृत्व लिन दलितहरु उठ्नु पर्ने बताए।

कार्यक्रममा बुद्धि नेपालीले हिन्दू सँस्कृतिः दशै र दलित विषयको कार्यपत्र प्रस्तुत गरेका थिए कार्यपत्रमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाकी उपाध्यक्ष टेकु नेपाली, नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा काठमाडौ अध्यक्ष सानुमाईमान मुल, सचिव असोक मिजार लगायतकाले टिप्पणी गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by