Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

शिक्षाध्यक्ष धरानबासी नै हुनु पर्ने माग

सन्तोष काफ्ले /एचकेनेपाल डट कम –
धरान, २४ असोज । वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्ष पदमा धरानवासीलाई नै नियुक्त गर्न स्थानीयवासीहरुले माग गरेका छन्। स्थानियहरुले प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउदै त्यस्तो माग गरेका हुन्।

स्वास्थ्यमन्त्री र उपकुलपति बीच तीनसाता अघिदेखि शिक्षाध्यक्ष पदमा कस्लाई नियुक्त गर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला प्रतिष्ठानमा कार्यरत धरानवासीलाई नियुक्त गर्नुपर्ने स्थानीयवासीहरुले माग गरेपछि उपकुलपति दासले भने आफू धरानवासीकै पक्षमा रहेको बताएका छन्।

धरानवासीहरु समक्ष उपकुलपति बलभद्र दासले आफू पूर्णरुपमा सकारात्मक भएपनि स्वास्थ्यमन्त्री राजेन्द्र महत्तोले भने नमानेको संकेत गर्दै मन्त्रीको तहसम्मको निर्णयलाई प्रभाव पार्न आग्रह गरे।

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रतिष्ठानमा कार्यरत धरानवासीलाई नै नियुक्त गर्नु पर्ने सहित धरानवासीहरुले राखेका ६ सूत्रीय मागका सम्बन्धमा आफ्नो धारणा राख्दै उपकुलपति दासले सो कुरा खुलासा गरेका हुन्। प्रतिष्ठानमा रिक्त शिक्षाध्यक्ष पदका लागि स्थानीय योग्यव्यक्ति भने एक मात्र प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ रहेका छन्।

प्रतिष्ठानका उपकुलपति दास समक्ष धरानवासीहरुले शिक्षाध्यक्षको पदमा र भोलिका दिनमा रिक्त हुने अन्य कार्यकारिणी पदमा पदपूर्ति प्रतिष्ठानमा कार्यरत धरानका शिक्षक, कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मिहरु बाटै गरिनुपर्ने सहित ६ सूत्रिय माग राखेका थिए।

धरानवासीहरुले राखेका ६ सूत्रीय मागमा प्रतिष्ठानबाट पढाइ हुने चिकित्साशास्त्र तथा स्वास्थ्य प्राविधिक विषयको विद्यार्थी भर्नामा धरानका लागि अलगै कोटा तोकिनु पर्ने, प्रतिष्ठानले उपलब्ध गराउने रोजगारीमा धरानवासीलाई प्राथमिकता दिनु पर्ने, प्रतिष्ठानबाट गराईने ठेक्कापट्टाका कार्यमा पनि धरानवासीलाई प्राथमिकता दिनुपर्ने माग राख्नुका साथै प्रतिष्ठानबाट संचालित प्रसुति सेवा लगायतका स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन र विगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गराउनुपर्ने रहेका छन्।

आफ्ना मागहरुका बारेमा धरानवासीहरुले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई फ्याक्स मार्फत जानकारी गराउदै आफ्ना मागलाई १५ दिनभित्रमा सम्बोधन गरिसक्न आग्रह गरेका छन्। धरानवासीहरुले आफ्नो मागलाई कार्यान्वयन गराउन वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति अन्तर्गत बृटिश गोर्खा भूतपूर्व सैनिक संघका नेपाल प्रमुख गजेन्द्र इस्वोको नेतृत्वमा संघर्ष उपसमिति समेत गठन गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by