सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २४ असोज । धेरै पछि धराने संगीतप्रेमीहरुले छुट्टै सांगीतिक मजा लिए। एनसेलले गरेको ‘रिचार्ज एण्ड ईन्जोय’ नाम दिएर आयोजाना गरेको एनसेल रक्सले रक संगीतमा फरक साँगीतिक मजा लिए धरानेहरुले।
निमा रुम्बा, सुगम पोख्रेल, कमल खत्री, एड्रिन प्रधान, स्रेया सोताङ, रेजिना रिमाल र डिल्ली फम्बो र द लिजेण्ड ब्याण्डको सांगीतिक टोलीले धरानेहरुलाई बेस्सरी नचाएको हो।
काठमाडौंबाट धनगढी, बुटवल र वीरगञ्ज हुँदै धरान आइपुगेको एनसेल रक्सको टोलीले धराने युवायुवतीहरुलाई भरपुर मनोरञ्ज प्रदान गर्दै बेस्सरी नचाउन सफल भएको थियो। धराने दर्शकहरुको साथ पाएका गायक कलाकारहरु पनि अत्यन्तै उत्साहका साथ प्रस्तुत भएका थिए। सोही सांगीतिक माहोलमा एभरेष्ट क्रुले समेत आकर्षक विबोइङ्ग नृत्य प्रस्तुत गरेर धरानेहरुको वाहवाही लिएको थियो। एनसेलको रक्समा युवा युवतीहरुको प्रिय गायक कलाकारहरुलाई प्रत्यक्ष हेर्न पाइने भएपछि धेरै जसो युवायुवतीहरुले कलेज बङक गरेरै आएको देखिन्थ्यो।
त्यसो त रक्सको मोहले टिनएजर र वयस्कहरुलाई पनि राम्रै मोहनी लगाएको देखिन्थ्यो। जबजब रक्सको संगीत र स्वर गुञ्जन्थ्यो तत्कालै रक प्रेमीहरु संगीतको नसामा मात्तिन थालिहाल्थे र बेपर्वाह झुम्न र उप्रिन थाल्थे।
एनसेलको सय रुपैयाँको रिचार्ज कार्ड किन्दा रक कन्सर्टको टिकट सित्तैमा पाएका रक संगीत प्रेमी ग्राहकहरुले सोमबार धरान–१२ स्थित पब्लिक हाईस्कुलको खेलमैदान भरेका थिए।
धरानमा एनसेलको रक्स कार्यक्रम हुँदा एनसेलको स्थानीय वितरकहरुले विगतमा महिनाभरीको कारोबारको तुलनामा साता दिनमै तीन गुणाबढी कारोबार गर्न सफल भएको पनि पाइयो। धरानमा रहेको पाँच मूख्य वितरक मध्ये एक धरान–४ का सागर शेर्पाले मात्रै तीन लाख रुपैयाँको रिचार्ज कार्ड विक्री गरे।
यसअघि, अधिकत्तम एक लाख रुपैयाँसम्मको महिनामा रिचार्ज कार्ड विक्री गर्ने शेर्पाका अनुसार दुई दिनमै उनले दुई हजार तीन सय थान त प्रवेश टिकट मात्रै वितरण गरेका थिए। एनसेलका अधिकारीहरुले भने एनसेल रक्सको प्रभावले रिचार्ज कार्डको बिक्रीमा के कस्तो प्रभाव पार्यो सोको बारेमा भने खुलाउन चाहेनन्।
उनीहरुले आफ्ना ग्राहकहरुलाई विशुद्धरुपमा मनोरञ्जन प्रदान गर्न एनसेल रक्सको आयोजन गरेको बताए। एनसेल स्रोतका अनुसार एनसेल रक्सको टिकट धरानमा १५ हजार थान खपत भएको थियो। एनसेलले सय रुपैयाँदेखि माथिको रिचार्ज कार्ड किन्ने ग्राहकलाई रक कन्सर्ट हेर्ने टिकट उपलब्ध गराएको थियो।
सोही समूहले पोखरामा पनि शानदार प्रस्तुती दिएको छ। तस्विरः उमेश पुन / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b