एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २२ असोज । मलेसियामा मृत्युदण्डको घोषणा गरिएका नुवाकोटका हरिबहादुर घलेको जीवनरक्षाका लागि मानवअधिकारकर्मी, राजनीतिक दलका नेताहरु, कानून व्यवसायीहरुले मलेसियाका राजालाई आग्रह गरेका छन्।
नेपाली काँग्रेस, नुवाकोटले शनिवार राजधानीमा आयोजित हरिबहादुर घले बचाउ अभियानको पत्रकार सम्मेलनमा इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले घलेको जीवनरक्षाका लागि पहिले नेपाल सरकारले मलेसियाको सरकारलाई आग्रह गर्नुपर्ने बताए।
उनले भने– म इन्सेक र फोरम एसियाको अध्यक्षको हैसियतले म एसियाभरि नै हरिबहादुर घलेलाई बचाउनका लागि पत्राचार गर्नेछु, मलाई विश्वास छ, घलेको जीवनरक्षा हुन्छ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदीप पाठकले हरिबहादुर घलेलाई कसैले फसाएको र भाषाको अभावमा उनी फन्दामा परेको बताए। घलेलाई मृत्युदण्डबाट बचाउन नेपाल सरकारले मलेसियन सरकारलाई पत्राचार गर्नुपर्नेमा जोड दिए।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले मलेसियाको पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको अवस्थामा त्यहाँका राजाले मात्र हरिबहादुर घलेको जीवनरक्षा गर्न सक्ने भन्दै त्यसका लागि नेपाल सरकारले निरन्तर पत्राचार गर्नुपर्ने बताए। मलाई लाग्छ, विश्वका छाताका रुपमा मलेसियाका राजा बसेका छन, एउटा शीतल छहारी दिने रुखका रुपमा हरिबहादुर घलेलाई शीतल छहारी दिनेछन्।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता तथा नुवाकोट जिल्ला कार्यसमितिका सभापति जगदीश्वरनरसिंह केसीले आफूहरुले घलेको जीवन रक्षाका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिए। आफूहरुले राष्ट्रपतिलाई भेटेर घलेलाई बचाउन आग्रहसहितको पत्र बुझाईसकेको समेत केसीले पत्रकार सम्मेलनमा जानकारी दिए।
पत्रकार सम्मेलनमा हरिबहादुर घलेका हजुरबुवा धनबहादुर घलेले आफ्नो सोझो नातीलाई फसाइएको भन्दै सबैले मिलेर आफ्नो नातीलाई बचाई दिन आग्रह गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b