एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, बान्तावा भाषा साहित्यका विभिन्न विधाका दश कृतिहरूको राजधानीमा शुक्रबार एकैसाथ लोकार्पण गरिएको छ।
पदम राई ‘युद्धविराम’ को ‘बान्तावा सचित्र शब्दसंग्रह’, निराजन बतासको कथासंग्रह ‘दिलाक्लाम’, बतास र मनोज साङसोनको सांस्कृतिक गीति एल्बम ‘सेमुना’, रामकुमार राईको उपन्यास ‘आखोमाङओ लेन्चि मित्सा’, विजय ग्वाले राईको कविता संग्रह ‘साबेङला’, उत्तम स्माइल राईको गजलसंग्रह ‘मिन्मा’, रविन्द्र दिखुक्पा राईको सांस्कृतिक नृत्य गीतिसंग्रह ‘साकेन्वा लाकछाम’, चेली लक्ष्मी राईको सामान्यज्ञान संकलन ‘सेन्मालामा’, सइन्द्र राईको गीतसंग्रह ‘बुङफेङ’ र लप्टनसिंह राईको आत्मवृतान्त ‘संघर्षमय जीवन’ कृतिहरू लोकार्पण अगुवा लेखक भुइदल राई, प्रा.डा. नोवलकिशोर राई, डा. लाल रापचा, चन्द्र हतुवाली र पदम राईले गरेका हुन्।
लोकार्पण कार्यक्रममा बोल्दै लेखक भुइदल राईले कृतिकारहरूले मातृभाषामा कृति प्रकाशन गरी आफ्नो मातृभाषाप्रतिको अभिभारा पुरा गर्ने प्रयत्न गरेको बताए । प्रा. राईले बान्तावा साहित्यले फड्को मारेकोमा खुशी व्यक्त गरे । डा. रापचाले आजको लेखनमा तथ्य, वैज्ञानिकता र मौलिक सौन्दर्य हराउँदै गएकोले त्यसलाई कायम गर्न वा उत्खनन गर्न लेखकहरू लागिपर्नुपर्ने सुझाव दिए । हतुवालीले भने प्रस्तुत कृतिहरूमा किरात मौलिकता हराभरा देखिएको टिप्पणी गरे।
बान्तावा भाषा साहित्यमा पहिलोपल्ट यतिधेरै कृतिहरूको एकैसाथ लोकार्पण गरिएको हो । अघिल्लो साल सोही भाषा साहित्यका आठ कृतिहरूको एकैसाथ विमोचन गरिएको थियो।
कृति परिचय
१. बान्तावा सचित्र शब्दसंग्रह– पदम राई ‘युद्धविराम’
बान्तावा भाषाको पहिलो रंगीन त्रैभाषिक (बान्तावा–नेपाली–अंग्रेजी) सचित्र शब्दकोश हो । यसमा एक हजार एक सय पाँच बान्तावा शब्दहको सचित्र अर्थ दिइएको छ । बान्तावा भाषा सिक्न र सिकाउन, किरात संस्कार र संस्कृतिलाई चित्र हेरेर बुझ्न, आदिवासी मौलिक ज्ञान र सीपसम्बन्धी ज्ञान हासिल गर्न यो पुस्तक उपयोगी छ । प्रकाशकः बान्तावा साक्षरता केन्द्र, काठमाडौँ।
२. सेमुना बान्तावा राई सांस्कृतिक गीति एल्बम– निराजन बतास र मनोज साङसोन
यसमा किरात मौलिक सांस्कृतिक ६ गीतहरू छन् । त्यसमध्ये माझकिरातको आमचोक हतुवा क्षेत्रमा प्रचलित सेमुना साकेन्वा लय तथा वाढाङमी गीति लय, ङाराजै कृषि गीति लय प्रमुख छन् । किरात मौलिक लयहरूको खोज अनुसन्धान गरी प्रकाशन गरिएको बान्तावा भाषाको यो नै पहिलो एल्बम हो । बान्तावा संस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्न सघाउन यो एल्बम उपयोगी छ । यसमा आभा मुकारुङ, हिन्दुहाङ सोरोङ, सुखकला राई, बिन्दु साङपाङ, खुशेनिछो चाम्लिङ, मनोज र निराजनले स्वर दिएका छन् । निर्माता धु्रव राई हुन् । प्रस्तुतिः रिचुअल रिदम प्रा.लि., काठमाडौँ।
३. दिलाक्लाम– निराजन बतास
बान्तावा भाषाको पहिलो आधुनिक कथा संग्रह हो । समसामयिक र किरात मौलिक विषयवस्तुहरूमा लेखिएका नौ कथा समावेश छन् । यसमा कथाहरूमा प्रयोग भएका कठिन शब्दहरूको अर्थ शब्दावली पाठ मार्फत दिइएको छ । कथा मार्फत विविध किरात सामयिकी बुझ्न र बुझाउन यो पुस्तक उपयोगी छ । प्रकाशकः दिलाक्लाम प्रकाशन, भोजपुर।
४. आखोमाङओ लेन्चि मित्सा– रामकुमार राई
बान्तावा भाषाको पहिलो उपन्यास हो । यसमा किरात संस्कार, संस्कृतिको क्षयीकरण र युवाहरूको विदेश पलायन र त्यसले पारेका दुष्प्रभावहरूलाई विषय बनाइएको छ । किरात जनजीवनका विविध आयामहरूमा चिन्तन गर्न गराउन यो पुस्तक सामथ्र्य राख्दछ । प्रकाशकः लेखक आफै ।
५. सावेङला– विजय ग्वाले राई
यसमा समसामयिक ३२ कविता छन् । किरात जनजीवनका विविध विषयहरूमाथि सटिक र सामयिक विचार सम्प्रेषण गरिएको छ । यो पुस्तकलाई नमुना मानेर बान्तावा भाषामा कविता लेख्न सिक्न र सिकाउन सकिन्छ । प्रकाशकः लेखक आफैँ।
६. मिन्मा– उत्तम स्माइल राई
बान्तावा भाषामा थपिएको अर्को गजल संग्रह हो । यसमा ५० गजल छन् । युवाहरूको सुरुचिपूर्ण विधा गजललाई बढोत्तरी गर्न गराउन यो कृतिले भूमिका खेल्न सक्छ । गजल लेख्न सिक्न र सिकाउन यो पुस्तक उपयोगी छ । प्रकाशकः लेखक आफैँ ।
७. साकेन्वा लाकछाम– रविन्द्र दिखुक्पा राई
बान्तावा राई भाषाको साकेन्वा नृत्य गीति संग्रह हो । यसमा तीन सय बहत्तर ‘स्ट्यान्जा’ छन् । खोटाङको सावाक्षेत्र आसपास प्रचलित दिल्पाली बान्तावा÷चाम्लिङ साकेन्वा नृत्य शैलीको लयमा कृतिकारले गीतहरू रचना गरेका छन् । साकेन्वा गीतहरूको संकलन, संरक्षण र प्रबद्र्धन गर्न गराउन यो पुस्तक उपयोगी छ । प्रकाशकः मालसरी राई
८. सेन्मालामा १– चेली लक्ष्मी राई
बान्तावा भाषाको सामान्य ज्ञान संग्रह हो । यसमा विविध दुई सय बयालीस प्रश्नोत्तरहरू हाजिरीजवाफको रुपमा प्रस्तुत गरिएको छ । सामान्य ज्ञानको विकासको लागि यो पुस्तक उपयोगी छ । प्रकाशकः लेखक आफैँ।
९. बुङफेङ– सइन्द्र राई
कविता, गजल र गीतको संग्रह हो । यसमा बीस वटा रचना छन् । सबै रचनाको अंग्रेजी अनुवाद पनि राखिएको छ । मातृभाषामा विविध साहित्यिक रचनाहरू अभिबृद्धिका लागि अभिप्रेरणा जगाउन यो पुस्तक उपयोगी छ । प्रकाशकः लेखक आफैँ।
१०. संघर्षमय जीवन– लप्टन सिंह राई
नेपाली सेनाका पूर्व सार्जेन्टको आत्मकथा हो । यसमा लेखकले जीवनमा आत्मसाथ गरेका सुख र भोग्नुपरेका दुःखहरूलाई विभिन्न शीर्षकहरूमा उतारेका छन् । यसमा शिक्षाले व्यक्तिको स्वविकास र व्यक्तित्व निर्माण गर्न खेल्ने भूमिकालाई महत्वकासाथ आफ्नै उदाहरण मार्फत् लेखकले उठाएका छन् । किरात पौराणिक इतिहास समेत समावेश गरिएको पुस्तकले स्वबोध गर्न सघाउँछ । र, संघर्षशील हुन प्रेरित गर्दछ । प्रकाशकः लेखक आफैँ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b