एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले सहमतिको सरकारको नेतृत्व सर्वसम्मत रुपमा नेपाली काग्रेसबाट सभापति सुशिल कोइरालाले गर्ने दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले नेतृत्वमा सहमति कायम गर्न नसकेको कारण निर्वाचित सभापति नै निर्विकल्प भएको बताए।
साक्षात्कारमा उनले भने–महाधिवेशनबाट निर्वाचित सभापतिको विकल्प छैन। उहाँको जस्तो ब्यक्तित्व पनि अरुको छैन । त्यसैले उहाँको नाममा कुनै विवाद छैन। विवाद गर्नेहरुले न्यूनतम नैतिक मुल्य मान्यता पनि भुलेका छन्।
उपाध्यायले पहिला नै सभापतिले देउवा र पौडेललाई सर्वसम्मत रुपमा एक जनाको नाम ल्याउनुस् भनेर भन्दा पनि उहाँहरुले सहमति गर्न नसकेकोले सभापति निर्विकल्प बनेको बताए। उनले दलहरु छिटटै सहमतिमा नपुग्ने हो भने अन्तरिम संविधान प्राकृतिक रुपमै अवसान हुने चेतावनी दिदै त्यस बेला अहिले रहेका दल र नेताहरु बढारिने ठोकुवा गरे।
एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमतिको सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले लिने दावी गरे।उनले भने–शान्ति प्रक्रियाको नेतृत्व लिएको स्वर्गिय गिरिजाप्रसाद कोइरालापछिको शीर्ष नेता प्रचण्ड सहमति भए सरकारको नेतृत्व लिन तयार हुनु हुन्छ। यद्यपि, उनले सामान्य अवस्थामा भने प्रचण्ड प्रधानमन्त्री नबन्ने स्पष्ट पारे।
गजुरेलले अहिलेसम्म दलहरुवीच सहमति बन्न नसक्नुको प्रमुख कारण सरकारको नेतृत्व नै भएको भन्दै काग्रेसले अहिले नेतृत्वको दावी गर्ने कुरा माओवादीलाई स्विकार्य नभएको बताए।
उनले संविधानसभाको विघठन पछि पाँच बुँदे सहमतिको आधार ध्यवस्त बनेकोले अब नयाँ आधारमा सहमति बन्दा जो पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै काग्रेसले भत्किसकेको सहमतिको आधारमा नेतृत्व खोजेकोले कुरा नमिलेको दावी गरे।
नयाँ आधारमा खुल्ला भएर छलफल गर्न नमान्दा नै अहिलेसम्म सहमति बन्न नसकेको आरोप लगाए। उनले सहमति बन्न नसके अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिएर निर्वाचनमा जानु पर्ने धारणा समेत साक्षात्कारमा राखे।
संविधानसभाको विरोध गरिरहेको नेकपा–माओवादीसँग सहकार्य गरेपछि काग्रेस र एमालेप्रति एमाओवादीको आशंका बढेको भन्दै अहिले शान्ति र संविधानको लागि अन्तर्राष्ट्रिय समर्थन चाहिएको बेला भारतीय नम्बर प्लेटको गाडी रोक्ने र चलचित्र रोक्ने कामले झनै आशंका जन्माएको बताए।
उनले शुक्रवार काग्रेस सभापति र एमाओवादी अध्यक्षवीचको छलफलमा संविधानसभा पुनःस्थापना गरेर संविधान संसोधन गरेर निर्वाचनमा जाने विषयमा समेत छलफल भएको बताए।
राप्रपा अध्यक्ष पशुपति समशेर राणाले सरकारको नेतृत्वको विषयमा दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको दावी गर्दै स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा निष्पक्ष चुनावी सरकार बनाउनु पर्ने बताए। उनले त्यस्तो सरकार बनाएर मुलुकलाई निकास दिन नसकिए राप्रपा नेपाल नेतृत्व दिएर मुलुकलाई निकास दिन तयार रहेको स्पष्ट पारे।
उनले को प्रधानमन्त्री बन्ने भन्ने विषयमा काग्रेस, माओवादी र मधेसी मोर्चामा विवाद रहेकोले दशैअघि सहमति बन्नै नसक्ने ठोकुवा गर्दै कार्तिक मसान्त सम्म सहमति नबने मुलुकमा भयंकर अकल्पनीय दुर्घटना हुने चेतावनी दिए । अहिलेको संकट आउनुको प्रमुख कारण तीन दल र मधेसी मोर्चा रहेको दावी गर्दै उनीहरुकै कारण संविधान सभा विघठन भएकोले अहिले पनि उनीहरुले मुलुकलाई निकास दिन नसक्ने ठोकुवा गरे।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको सरकारको नेतृत्वमा मधेसी मोर्चाले पनि दावी गर्ने बताए। उनले भने–हामी राजनीति गर्न आएका हौ। सन्यासी बन्न आएका होईनौ। हाम्रो पनि दावी रहन्छ। यद्यपि उनले सहमतिको सरकारको नेतृत्व दलहरुको सहमति जुटाउन सक्ने ब्यक्तिले नै गर्ने बताए।
उनले संविधानसभा निर्वाचनको विकल्प नभएकोले संविधानसभामा विवाद नरहेका विषयलाई सुरक्षित राखेर विवादका विषयमात्रै निर्वाचनमा लिएर जानु पर्ने भन्दै सहमतिमा संविधान संसोधन गरेर निर्वाचन जान नहुने तर्क गरे। उनले भने–सहमतिमा मात्रै संविधान संसोधन गरे अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्छ । विकल्पमा छुट्टै निर्वाचन सम्बन्धी निमयम बनाएर निर्वाच्नमा जानुपर्छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b