Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रथम मिसेस् नेवाः को ताज सुप्रिया खड्गीलाई

रञ्जन अधिकारी/ एचकेनेपाल डट कम –
पोखरा, १४ असोज । पोखरामा पहिलो पटक आयोजना गरिएको मिसेस् नेवाः ११३२ को उपाधि सुप्रिया खड्गीले जीतेकी छिन्।

१५ प्रतिष्पर्धीलाई पछि पार्दै मोस्ट पर्सनालिटीसमेत घोषित खड्गीले प्रथम मिसेस् नेवाः को ताज पहिरिएकी हुन्। पोखरा ३ नदीपुरकी खड्गीले नगद रु. २० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

नेवाः तजिलजि दबुः पोखराको आयोजनामा भएको प्रतियोगितामा फस्र्ट रनरअप सरोजलिन कायस्थ तथा सेकेण्ड रनरअप संगीता बज्राचार्य घोषित भए। बेस्ट पर्फमेन्सको टाईटल विजेता कायस्थले नगद रु. १५ हजार तथा मोस्ट ट्यालेन्टेडको टाईटल जितेकी बज्राचार्यले नगद रु. १० हजार प्राप्त गरिन्।

सहभागी १५ प्रतियोगीमध्ये निर्णायकहरुको प्रश्नको जवाफका आधारमा उत्कृष्ट १० बाट उत्कृष्ट ५ चयन हुँदै विजेता घोषणा गरिएको हो। प्रमुख निर्णायक वरिष्ठ साहित्यकार प्रकाश सायमीले “पोखरामा अहिले क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आन्दोलन भईरहेको छ। तपाईंको विचारमा पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल किन चाहिन्छ?” भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै खड्गीले उपाधि जित्न सफल भईन्।

उत्कृष्ट पाँचमा पञ्च श्रेष्ठ र अनिता श्रेष्ठ पर्न सफल भए। उत्कृष्ट १५ बाट उत्कृष्ट १० मा रत्ना बज्राचार्य, सजना श्रेष्ठ, सानु जोजिजू र सीतादेवी श्रेष्ठ परेका थिए । जमुना जोशी, सोनी ढेवाजु, निलम विजुक्छे, बन्दना कर्माचार्य र प्रमिला जोशी पहिलो चरणमै बाहिरिए।

विभिन्न १५ विधामा अवार्ड वितरण गरिएकोमा सहभागी सबैले एक–एक टाईटल पाए। मोस्ट कन्फिडेन्ट अनिता श्रेष्ठ, मोस्ट पोलाइटनेश बन्दना कर्माचार्य, मोस्ट सोसियल जमुना श्रेष्ठ, मोस्ट पन्क्चुवल निलम विजुक्छे, बेस्ट क्याटवाक प्रमिला जोशी घोषित भए । यस्तै, मोस्ट क्रियटिभको टाईटल पञ्च श्रेष्ठ, बेस्ट एटिच्यूड रत्ना बज्राचार्य, मोस्ट चार्मिङ सजना श्रेष्ठ, मोस्ट एटेन्डेन्स सानु जोजिजू, मोस्ट ट्यालेन्टेड टाईटल संगीता बज्राचार्यले जिते। यसैगरी बेस्ट पर्फमेन्स सरोजलिन कायस्थ, बेस्ट फोटोजेनिक सुस्मा श्रेष्ठ, बेस्ट पर्सनालिटी सुप्रिया खड्गी, मोस्ट फ्रेण्ड्ली सोनी ढेवाजु, बेस्ट हेयर सीतादेवी श्रेष्ठ घोषित भए।

प्रतियोगिताका निर्णायकहरुमा वरिष्ठ साहित्यकार प्रकाश सायमी, विम्बकवि प्राज्ञ तीर्थ श्रेष्ठ, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठ, शिक्षासेवी मिनु श्रेष्ठ रहेका थिए।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मिसेस् नेपाल २०११ की फस्र्ट रनरअप अर्चना शर्मा खनालले विवाहित महिलाहरु घरव्यवहारमा मात्र सीमित नभई अब यसरी नै प्रतिभा प्रस्फुटन गर्दै सशक्त बन्नुपर्नेमा जोड दिइन्। तमु धिँ नेपालकी अध्यक्ष कर्म तमुले यस्ता प्रतियोगिता महिला सशक्तीकरणको क्रान्तिकारी कदम भएको उल्लेख गर्दै जातीय संघसंस्थाले आफ्ना जातिको पहिचान संस्कृति सम्र्वद्धनका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले तमु जातिको ट्होँटे पर्वमा नेवार जातिबाट धिमे बाजा सहित उपस्थित भएको उदाहरण दिँदै तमु जाति र नेवाः जातिबीच पोखरामा गहिरो सम्बन्ध रहेको बताइन्। नेपाल आदिवासी जनजाति महासंघ, कास्कीका अध्यक्ष पानबहादु घर्तीले यस्ता कार्यक्रमहरुमा अंगप्रदर्शन हुने भन्दै जनमानसमा नकारात्मक धारणा रहेकोमा पछिल्लो क्रममा जातिय संस्थाले आफ्नो पहिचान, संस्कृति प्रर्दशन गर्ने माध्यम बनेकोमा खुशी ब्यक्त गरे।

नेवाः तजिलजि दबुः का अध्यक्ष विष्णुशंकर ख्वाउँजूको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका डिआईजी राजकुमार विष्ट लगायतले बोलेका थिए। कार्यक्रममा नेवारी धिमे बाजा, गायक विनित जोजिजूको गीत प्रस्तुति तथा जीतेन्द्र नापित समूहले नृत्य प्रस्तुत गरेको थियो। नेवार समुदायको संस्कृतिको प्रवद्र्धन गर्न र उनीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि गरी सामाजिक गतिविधिमा सकृय हुन सघाउने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सुनयना पालिखेले बतइन्।

सहभागी २१ देखि ३५ बर्ष उमेर समुहका १५ प्रतियोगीहरुलाई कला संस्कृति, क्षमता अभिबृद्धि तालिम, व्युटि टिप्स लगायतका तालिम समेत प्रदान गरिएको थियो। प्रतियोगिताको कोरीयोग्राफीमा रविन्द्र श्रेष्ठ र फोटोग्राफीमा सञ्जय शाक्य रहेका थिए। कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकी प्रस्तोता कविता श्रेष्ठले गरेकी थिइन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by