एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ असोज । नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा क्याप्टेन शेरचनले आफूले जहाज उडाउँदा समेत पटक पटक चरासँग ठोक्किएपनि बचाएको उदाहरण प्रस्तुत गर्दै जहाजमा भएको प्राविधिक र विमानस्थलको ब्यवस्थापनमा रहेको कमजोरी पनि दुर्घटनामा सहायक भएको आरोप लगाए।
साक्षात्कारमा उनले नेपाली पाईलट विश्वकै सबैभन्दा जोखिम उडान गर्न सक्षम प्रमाणित भईसकेको अवस्थामा चरा ठोक्किएरमात्र दुर्घटना भयो भन्नु उचित नहुने तर्क गरे। उनले भने–हिजो नै उडानको लागि अयोग्य भनेर नउडाएको विमान आज के गरेर उडायो? यो नै शंकास्पद छ।
विमानस्थलमा चरा उड्न नपाउने बातावरण निर्माण गर्ने ब्यवस्थापनको पक्षमा विमानस्थल ब्यवस्थापन असफल भएको भन्दै नेपालको मौसम र भौगोलिक जटिलताको कारण पनि धेरै दुर्घटना हुने गरेको अनुभव उनले सुनाए।
उनले विमानलाई मानवबस्तीमा खस्न नदिई खोलामा खसाउनु पाईलटको कुसलताको उदाहरण भएको भन्दै विमानका पाईलट सक्षम रहेको पुष्टि भएको बताए।
नेपाल वायू सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले मनहरा खोलामा दुर्घटना भएको सीता एयर विमान दुर्घटनामा पाईलटको कुनै भूमिका नभएको भन्दै प्राविधिक जाँच भएर उडेको विमान चराको कारणले मात्र दुर्घटना परेको दावी गरे। उनले मानवबस्तीमा विमान खस्न नदिनु पाईलटको सक्षमताको उदाहरण भएको भन्दै ठोक्किन आटेको चराबाट बचाउन खोज्दा दुर्घटना भएको हुन सक्ने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b