Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संविधानसभाको पुनःस्थापना नै गतिरोध अन्त्यः युवा नेताहरु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ भदौ । शीर्ष नेताहरुवीच मुलुकमा जारी राजनीतिक र संबैधानिक गतिरोध अन्त्यको उपायको विषयमा फरक फरक धारणा सार्वजनिक भईरहेको समयमा सत्तारुढ र प्रतिपक्षी दलका यूवा नेताहरुले भने एकै स्वरले संविधानसभाको पुनःस्थापना नै गतिरोध अन्त्यको सर्वोत्कृष्ट विकल्प भएको धारणा राखेका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका यूवा नेता हेमन्त प्रकाश ओलीले नयाँ निर्वाचनमा जान आवश्यक संविधान सशोधन गर्न समेत संविधानसभाको पुनःस्थापना आवश्यक भएको भन्दै गतिरोध अन्त्यको सबैभन्दा उपयुक्त विकल्प पुनःस्थापना भएको दावी गरे।

साक्षात्कारमा उनले माओवादी पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभाबाटै संविधानको पक्षमा रहेकोले संविधानसभाको पुनःस्थापना गरेर अगाडि बढ्न सके मुलुकले निकास पाउने बताए । उनले भने–ढिला भईसक्यो, छिटो गर्नु पर्यो नत्र भने प्रतिगमनकारीहरुले हुर्किने मौका पाउँछन्।

नेपाली काग्रेसका यूवा नेता सोभाकर पराजुलीले संविधान संशोधन विना नयाँ निर्वाचन हुन नसक्ने र संसदविना संविधान संशोधन हुन नसक्ने भएकोले संविधानसभाको पुनःस्थापन गरेर निकास निकाल्नु निर्विकल्प उपाय भएको बताए।

उनले संविधानसभाबाटै संविधान बनाउनु पर्ने भएकोले अरवौ खर्च जोगाउन पनि संविधानका विवादित विषयमा सहमति जुटाएर संविधानसभा पुनःस्थापना गर्नु पर्ने धारणा राखे । उनले राष्ट्रपतिलाई उकास्ने दलहरुको गतिविधीले फेरि मुलुकमा ज्ञानेन्द्र जन्माउने खेल भईरहेको भन्दै जति सक्दो चाडो संविधानसभाको पुनःस्थापना गरेर निर्वाचनमा गए मात्र प्रजातन्त्र सुरक्षित रहन सक्ने धारणा राखे। उनले पुनःस्थापना विरोधीहरु प्रतिगमनका मतियार भएको गंभीर आरोप समेत लगाए।

नेकपा एमालेका युवा नेता गोकर्ण विष्टले संविधानका विवादित विषयमा सहमति जुटाएर छोटो समयको लागि संविधानसभाको पुनःस्थापना गर्नु मुलुकका लागि कम जोखिमपूर्ण उपाय भएको बताए। उनले अध्यादेशबाट शासन गर्न खोज्ने र राष्ट्रपति उचालेर आफ्नो अभिष्ट पुरा गर्ने तत्वहरुले मुलुकमा पुन द्धन्द्ध बढाउन खोजेको आरोप लगाउँदै सरकार र संविधानका विवादित विषयलाई सँगसँगै अगाडि बढाएर सहमति जुटाउन आब्हान गरे। उनले सरकार परिवर्तन नभई सहमति बन्दैन भन्ने कुराले सरकारको आयू लम्ब्याउने बाहेक केही काम गर्न नसक्ने ठोकुवा गरे।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका युवा नेता रामजनम चौधरीले कार्यतालिका सहित केही समयको लागि संविधान पुनःस्थापना गरेर निकास निकाल्न सकिने दावी गरे । भदौभित्र पनि दलहवीच सहमति बन्न नसक्ने ठोकुवा गर्दै संविधानसभा पुनःस्थापनाको विकल्प नभएको बताए।

निर्वाचन वा पुनःस्थापना दुबै सहमतिबाट मात्रै हुन सक्ने भन्दै मुलुकमा फेरि पनि सहमतिका विकल्प नभएको बताए । उनले भने–यसका लागि दलहरु एक एक कदम पछि हटेर सहमति खोज्न लाग्नु पर्छ।

मधेस क्रान्ति फोरमका अध्यक्ष सञ्जय साहले प्रमुख दलहरुको नियतनै गलत भएकोले मुलुकले निकास पाउन नसकेको भन्दै संविधानसभाको पुनःस्थापना नै अहिलेको उपयुक्त निकास भएको बताए। ठूला दलहरुलाई जनताले निरन्तर दवाव नदिई संविधान बन्न नसकने भन्दै मधेसी मोर्चा सत्तामा अल्झेर संविधानको लागि काम गर्न नसकेको आरोप लगाए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by