आनन्द श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, पूर्वाञ्चलको चर्चित नाट्य संस्था अनाममा पुराना कलाकार विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिले सोमबारदेखि कार्यभार सम्हालेको छ।
धरान नगरपालिकाको सभाभवनमा आयोजित पदस्थापना समारोहमा निवर्तमान अध्यक्ष विशाल भण्डारीले हालै सम्पन्न साधारणसभाबाट निर्विरोध निर्वाचित अध्यक्ष श्रेष्ठलाई खादा ओढाएर पदभार सुम्पिएका थिए।
आप्mनो अध्यक्षीय मन्तव्य दिंदै नवनियुक्त अध्यक्ष श्रेष्ठले दुई वर्षभित्र धरान–१३ मा निर्माण सुरु भई पूरा हुन नसकेको अनामको आप्mनै भवन निर्माण कार्य सम्पन्न गर्ने र पूर्वाञ्चलका कलाकार तथा गैर कलाकारहरुलाई पनि नाट्य विधामा तालिम, गोष्ठी, प्रशिक्षणको आयोजना गरी राम्रा राम्रा कलाकार उत्पादन गर्ने दुईवटा मात्र भावी योजना बनाएको बताए।
सो समारोहमा शुभकामना मन्तव्य दिँंदै गुरुकुल काठमाडौंका प्रतिनिधि कलाकार अनिल पोख्रेलले सरकारले गुरुकुललाई काठमाडौंको भृकुटी मण्डप परिसरमा ६ रोपनी जग्गा र विराटनगर नगरपालिकाले गुरुकुललाई ७ कट्ठा जमीन दिएर कलाकारको हौसला बढाएको छ। यसैगरी धरान नगरपालिकाले पनि धरानको गौरव रंगकलाको संरक्षण गर्न मन खोलेर सहयोग गर्न आह्वान गरे।
समारोहमा प्रमुख अतिथि धरान नगरपालिकाका प्रशासन अधिकृत गणेशप्रसाद खतिवडाले अनाममा पनि नेपाली राजनीतिक पार्टीमा जस्तो टुटफुटको रोग नलागोस् भन्ने कामना गर्दै धरान नगरपालिकाले कला, साहित्यको जर्गेना र प्रवद्र्धका लागि सक्दो सहयोग गर्ने बताए।
समारोहमा रोटरी क्लब अफ दन्तकालीका अध्यक्ष मुकुल कायस्थ, कवि बद्री पलिखे, प्रधानाध्यापक हिराकाजी बुढाथोकीले पनि शुभकामना मन्तव्य राखेका थिए । अनामका कार्यक्रम निर्देशक राजेन्द्र रिमालले धरान आफूलाई बौद्धिक शहर भनेर चिनाउन खोज्छ तर जहाँ एउटा थियटर हल छैन, जहाँ पुस्तकालयहरु नगन्य रुपमा छन्। यहाँ थियटर हल नभएकै कारणले हामी सडक नाटक मात्र गर्न बाध्य छौं । धरानका कलाकारहरुले कहिलेसम्म सडकमा नाटक देखाउँदै हिँड्नुपर्ने हो ? भनी प्रश्न गरेका थिए।
श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ कार्य समितिको सचिवमा मदन गुप्ता, कोषाध्यक्ष रमेश शाह र सदस्यहरुमा कलाकार सुभाष थापा, हिमाल दाहाल, अल्पना कर्माचार्य, कुलचन्द्र न्यौपाने, सुजाता राई र विनोद सुब्बा छन्।
पदस्थापन कार्यक्रम पश्चात नगरपालिका गेट अगाडि सडकमा ‘अबको बाटो’ नामक सडक नाटक प्रस्तुत गरिएको थियो। सुभाष थापाको निर्देशनमा तयार पारिएको सडक नाटक ‘अबको बाटो’ मा अनामका १० जना कलाकारले भाग लिएका छन्। आजदेखि सुरु भएको सो नाटक मंगलबार धरानको भानुचौक हुँदै सुनसरीका विभिन्न स्थानहरुमा एक हप्तासम्म प्रदर्शन गरिने सचिव मदन गुप्ताले बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b