नरेन्द्रराज प्रसाई-
जसुदा भट्ट (राई)ले आफ्नो जीवनमा जे गरिन् हार्दिकता पूर्वक गरिन् । जोसँग शिष्टाचार राख्ता पनि उनी मन खोलेरै व्यवहार गर्थिन्। कसैलाई केही दिनुछ भने पनि आफ्नो गच्छेलाई उनी र्सलक्कै नाङ्लोमा राखिदिन्थिन्। कोही कपट पालेर उनका सामु आए भने पनि उनी आफ्नो मन, वचन र कर्मको मन्त्र सुनाई दिन्थिन् त्यसैले बाँचुन्जेल उनका शत्रु पनि देखिएनन् । उनी कम्युनिष्ट पार्टीको झण्डा बोकेर दौडँदा पनि अरुहरु दलबलका नेतादेखि कार्यकर्तासम्मले उनको कार्यको प्रसंशा गर्थे । त्यही क्रममा आवद्ध हुँदा भोजराज भट्ट चाहिं उनका दिलैमा पसेका थिए । भट्ट काङ्ग्रेस भएर पनि राईझैं सहृदयी थिए । त्यसैले एकपटक काङ्ग्रेस र कम्युनिष्टको झण्डाले समेत मितेरी लगाएको थियो।
जसुदा नेकपा एमालीकी शसक्त कार्यकर्ता थिइन् । उनी शारीरिक, बौद्धिक र मनकी सुन्दरी थिइन् । त्यतिमात्र होइन, उनी सङ्गठनकलाकी शिर्षथ योद्धा थिइँन् । मोदनाथ प्रश्रतिका अनुसार उनी पार्टीभित्रकी इमान्दार, अनुशासित र गतिली सङ्गठन कर्ता थिइन् । साथै उनीबारे झलनाथ खनालले पनि लेखे ‘कमरेड जसुदा पनि नेपालआमाकी त्यस्तै एक सुपुत्री थिइँन्, जसले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म आफ्नो जीवनयात्राका हर घडीमा देश र जनता पक्षमा आफूलाई उभ्याइन् । उनी जनतालाई जागृत, सङ्गठित र एकतावद्ध बनाउने काममा निरन्तर लागिरहिन्।’
जसुदा वसुधैव कुटुम्बकम्की हिमाइती थिइँन् । उनी जेजस्तो सिद्धान्तकार भए तापनि न्यायका लागि गरीव धनी सबैलाई एउटै तुलोमा राख्थिन् । उनी कसैको विपक्षमा हुन्न थिइन् । आफ्नै दलका मान्छेले सेतोलाई कालो भन्यो भने उनी त्यसको प्रतिकार गर्थिन् । त्यसैले थोरै समयमा उनले माथीको बादल छोएकी थिइँन्।
जसुदा मन खोलेर हाँस्थिन् । त्यसबेला उनीसँग संसार आफ्नै हुन्थ्यो । त्यसैले उनी प्रकृतिले दिएको जीवनबाट पक्षपात हुनुहुँदैन भन्थिन् । उनी रुढिवादीको चाहिं विरोधी थिइन्। साथै उनी जातपातलाई जीवनधर्म मान्दैन थिइन् । अनि उनले जातजाती, धर्मकर्म, सिद्धान्त आदिको कदर पनि गरिन् र जनएकताको सिद्धान्तमा पनि आफूलाई बाटिन् । साथै उनको सादा जीवन र उच्च विचारले सुदूर पश्चिमाञ्चलमा उनी झनसारो प्रिय भइन् । पूर्वको चिसो ठाउँकी चेलीले पश्चिमको तातो हावामा तनमन जोडेर सेवा गरेको परिवेश त्यतातिर पनि निक्कै नौलो र प्रेरक भयो । उनले नेपालको सुदुर पश्चिमाञ्चलको शिक्षा विकासका लागि आफ्नो गच्छे रोपेकी थिइन्।
जसुदाले जीवनको अन्त्य समयमा धनगढीको ऐर्श्वर्य विद्या निकेतनमा पढाइन् । उनी त्यस ठाउँकै राम्रो र चर्चित शिक्षिका थिइन् । साथै उनी त्यस भेकका सामाजिक सङ्घसंस्थाहरूमा पनि आवद्ध थिइन् । उनी जुन संस्थामा पस्थिन् त्यसैमा समर्पित भएर खटेकी हुन्थिन्।
जसुदाको जीवनको सबैभन्दा ठूलो विशेषता उनी जनसेवामा हुरुककै थिइन् । त्यसैले कहीँ कसैको भत्केको देखिन् भने टाल्ने मान्छेको खाजीमा जसुदा नै लाग्थिन्, कसैको कहीँ उद्रयो भने जसुदाले सिउने पनि मान्छे खोज्न थाल्थिन् र कहीँ विमारी मान्छे सुनियो भने जसुदाले नै डाक्टरको खोजि गर्ने कामसमेत गर्थिन् । अनि विद्यार्थी, साहित्यकार र कलाकारका लागि उनले आफ्नो सकेसम्म पूरै मन रोप्ने गर्थिन्।
जसुदा आफ्नै पाराकी एउटी राजनीतिज्ञ थिइन् । साँघुरो बाटोमा हिंड्ने उनका केही नेतामाझ पनि उनी जुनकिरी भएर आफै छामछुम गर्दै फर्याक बाटो खोज्दै हिंड्थिन् । उनी नारीपुरुष समान धरातलमा राख्न रुचाउँथिन्। तर उनी नारी अस्मिताको रक्षार्थ डटेरै उभिन्थिन। वास्तवमा उनी सकरात्मक सोचकी लखपति थिइन् । त्यसैले उनी विपरित सिद्धान्तका मान्छे पनि राम्रा छन् भने जय मनाउँथिन् । तर उनी आफ्नो सिद्धान्तमा निष्ठावादी थिइन् । मान, प्रतिष्ठा र पदका लागि उनी कहिले अघि सरिनन् । किनभने उनी ठूलो चित्त भएकी जागरुक नारी थिइन्।
मूर्तिकार, नाटककार, साहित्यकार तथा प्रशासक ठाकुरसिंह राई र इन्द्रकुमारी राईकी माइली छोरी जसुदाको जन्म २०१५ साल असार ८ गतेे इलाममा भएको थियो।
जसुदाले प्रारम्भिक शिक्षा उनका बाजे हरिलाल राई र बजै राधा राईसँग बसेर दार्जिलिङमा प्राप्त गरिन् । तर त्यहाँ यी धेरै टिक्न सकिनन् र उनलाई इलाम नै ल्याइयो। उनले स्थानीय स्कुलमा पढिन् र इलामकै महेन्द्ररत्न क्याम्पसबाट आईए पनि पास गरिन्। साथै उनले काठमाडौंको पद्मकन्या कलेजमा बीए पढिन्।
जसुदा किशोरीमा केटाझैं थिइन् । उनी सहृदयी, मिलनसार, निर्भीक, न्यायिक, राम्री, फूर्तिली, सेवी, सल्लाहकार अथवा भनौं सम्पर्ूण्ा थिइन् । त्यतिबेला उनका नरनारी बराबरी साथी हुन्थे।
जसुदा जागरणकी कुशल हस्ती थिइन् । उनी आफ्नो राष्ट्रियताको जग बलियो र फराकिलो पार्न समय खर्च गर्थिन् । त्यसैले उनी हर घडी नेपाल र नेपालीका बारे चिन्तित हुन्थिन्। अनि उनी मेचीमहाकाली एउटै थाप्लोमा अटाएर एउटा ठोस चिन्तन पालेर हिंड्थिन्।
सङ्गठन विस्तारमा हिँडेकै बेला इलामकी जसुदा राईको सम्बन्ध कैलालीका भोजराज भट्टसँग भयो । त्यसबेला राई र भट्ट २४ वर्षा थिए । बराबरी उमेर खेपेका उनीहरू मायाको डोरीमा बाँधिए, धेरै बाँधिए र निक्कै धेरै बाँधिए । त्यसैको परिणामले उनीहरु लगन गाँठोमा कस्सिए । अधिवक्ता भट्टसँग वैवाहिक जीवनमा गाँसिएर पनि यिनले समाजसेवा नै गरिन् । अनि यी दम्पतिबाट एक जना छोरा प्रणव र दुई छोरी ऋतु र पृथा पाए । त्यसपछि उनीमा स्वास्थ्यले त्यति साथ दिएको थिएन।
जसुदाको स्वास्थ्य सानैमा खच्केको थियो । सानैदेखि उनको फोक्सो बिग्रिएको थियो। उनी सानैदेखि स्वासप्रश्वासको विमारी थिइन् । सानैमा उनी ख्यारख्यार गरेर सास फेर्थिन्। अनि सानैमा उनको छाती पनि कुख्रे थियो । चालीस वर्षकाटेपछि यिनलाई गम्भीर रुपमा यसै रोगले च्याप्न थाल्यो । उनका पतिले उनलाई बचाउन धेरै प्रयास गरे । अनि उनलाई झन्नै ४ वर्ष चौबीसै घण्टा अक्सिजन दिएर काठमाडौंका विभिन्न अस्पतालमा पनि राखियो। त्यतिबेलासम्ममा उनको फोक्सो ७५ प्रतिशत सम्पूर्ण रूपमै बिग्रिएको रहेछ। त्यसैले अठचालीस वर्षसम्म मात्र उनले पृथ्वी हेर्न सकिन् । अन्ततः २०६४ साल माघ २८ गते सरस्वती पूजाका दिन उनको काठमाडौंमा स्वर्गारोहण भयो।
भोजराज भट्टले आफ्नी मायालुसँग २६ वर्षो दाम्पत्य जीवन गाँसे । त्यसपछि उनले जसुदाका नाउँमा स्मृति ग्रन्थ प्रकाशनमा ल्याए । उनी हरेक पलमा आफ्नी पत्नीको सपना बोकेर हिंड्छन् । उनलाई कसैले बिहे गर्ने प्रस्ताव गर्यो भने उनले उत्तरको रेडिमेड जवाफ पनि तयार गरे ‘बिहे गरेर म राम्रो खेलौना भेट्न सकूँला तर जसुदालाई त पाउँदिन ।’ यही आदर्शमा नै उनी आफ्ना छोराछोरीसँगको जीवनयात्रामा टाँस्सिरहे।
naiprasai@gmail.com