Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अब राष्ट्रपतिले दलहरुलाई अल्टिमेटम दिनु पर्छः अध्यक्ष यादव

एचकनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ भदौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई जारी राजनीतिक र संबैधानिक गतिरोधबाट निकाल्नको लागि दलहरुलाई राष्ट्रपति डा रामबरण यादवले निश्चित समय सीमासहित अल्टिमेटम दिनु पर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा यादवले संरक्षक र पालकको हैसियतले पनि मुलुकलाई असफल हुन बाट जोगाउन पहल गर्नु राष्ट्रपतिको कर्तब्य हुने स्मरण गराए।

साक्षात्कारमा उनले भने– अब ढिला गर्नु हुँदैन । राष्ट्रपतिले दलहरुलाई स्पष्ट समय तोकेर यति समयसम्म सहमति गरेर आउनुस भनेर अल्टिमेटम दिनु पर्छ । उहाँ यसरी चुप लागेर बस्न मिल्दैन । अब नयाँ सरकार तयार पारेर अगाडि बढ्नु पर्छ।

मुलुकको साँचो भारतमा लगेर छाड्ने प्रधानमन्त्री डा बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाउँदै कुनै पनि देशका राष्ट्रप्रमुखसँग प्रधानमन्त्रीले एक्लै भेट्नु राष्ट्रघात भएको आरोप लगाए। उनले भने–प्रधानमन्त्रीको यो हर्कत नेपाली जनताको लागि धोका हो । यो हर्कले देशको सम्मानमा उनले लात हानेका छन् । यस विषयमा प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनु पर्छ।

यो घटनाले प्रधानमन्त्री र पराष्ट्रमन्त्रीवीच विश्वासको संकट प्रष्ट बनाएको भन्दै परराष्ट्रमन्त्रीले जागिर खाने काम बाहेक केही गर्न नसकेको दावी गरे।

माओवादी संघीयता पक्षधर नभएको भन्दै यादवले सत्ता लम्ब्याउने माओवादीले संघीयताको पक्षधरहरुको गठबन्धन निर्माण गरेको आरोप लगाए। उनले भने–माओवादी संघीयता पक्षधर हुन्थ्यो भने १२ बुँदे सम्झौता, अन्तरिम संविधानमा संघीयताको कुरा उठ्थ्यो तर मधेस आन्दोलनले मात्रै यसलाई स्थपित गर्यो । काग्रेसमा रहेका विजय गच्छदार कहिलेका संघीयता पक्षधर हुन्। फोरमबाट चुनाव जितेकोले उनी बनेका मात्रै हुन्। त्यसैले संघीयता पक्षधरहरुको गठबन्धन नाटकमात्रै हो। उनले थपे– भनाई सहमति काम मोर्चाबन्दी गरेर भिडन्त गर्ने काम मात्रै हो।

संघीयता आउने भयो भनेरै तीन दलले संविधानसभा विघटन गरेको भन्दै उनले फेरि पनि संघीयता, पहिचान, गणतन्त्र, लोकतन्त्र र समावेसीता विनाको संविधान नेपाली जनताले मान्न नसक्ने स्पष्ट पारे।

कुर्सीको लडाईको कारण संविधान बन्न नसकेको भन्दै यादवले यस्तै अवस्था रहे मुलुक राजनीति, संबैधानिक, आर्थिक र विश्वासको संकटको खाड्लमा भासिएर असफल हुने चेतावनी दिए। निकासको लागि दलहरुवीच सहमति गरेर संविधानको राजनीतिक मस्यौदा जारी गरेर त्यसलाई अनुमोदन गराउन संविधानसभाको पुनःस्थापना वा निर्वाचनमा जान सकिने यादवको गतिरोध अन्त्यको उपाय थियो। उनले संविधानको मस्यौदा नबन्दासम्म कुनै पनि हालतमा संविधानसभा पुनःस्थापन हुन नसक्ने स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by