बबरमहल बिष्फोटनका ६ आरोपीहरु सार्वजनिक
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ फागुन । बबरमहल बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ।
पक्राउ परेर सार्वजनिक गरिएकाहरूमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामा रहेका छन्।
प्रेम तामाङ, सागर लामा र सुरेश लामा बबरमहलमा बम राखेको अभियोगमा र निमा तामाङ, भीमबहादुर तामाङ र बुद्धिबहादुर गोले बम बनाउने तथा बम विष्फोट गराउने स्थान छनौट र योजना बनाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले अन्य ठाउंहरूमा समेत बम विष्फोट गराउने योजना गरिरहेको अनुसन्धानको क्रममा पत्ता लगाएको छ। विशेष अनुसन्धान समितिका संयोजक डीआइजी उपेन्द्रकान्त अर्यालका अनुसार उनीहरू बसेको सिनामंगलको डेराबाट जिलेटिनको १० गोला, बम बनाउन प्रयोग हुने प्रेसर कुकर तथा पाइपका टुक्राहरु समेत बरामद गरिएको थियो।
राजधानीको बबरमहलमा बम विष्फोट, ३ को मृत्यु ७ घाइते
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ फागुन । राजधानीको बबरमहलमा सोमवार अपरान्ह शक्तिशाली बम विष्फोट हुंदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा धादिङ बैरेनी -१ का ३५ वर्षीय कृष्णबहादुर तामाङ र धादिंङ बैरेनी-६ का ७० बर्षीय मान बहादुर मानबहादुर तामाङ र बाराका वीरबहादुर तामाङ रहेका छन्। प्रहरी स्रोत अनुसार दुई जनाको घट्नास्थलमै र मानबहादुर तामाङको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते हुनेहरूमा वाशु श्रेष्ठ (ठेगाना खुल्न नसकेको) आयल निगमका कर्मचारी विष्णुप्रसाद तुलाधर, भक्तपुरका रघुनाथ खड्का, बारका सोम तामाङ, धादिङका लालबहादुर तामाङ, अछामका मानबहादुर कुँवर र भीमबाहदुर कुँवर रहेका छन्। घाइतेमध्ये सोमबाहदुर तामाङको अवस्था गम्भीर रहेको जनाइएको छ।
विष्फोटपछिको भयावह दृश्य (सावधानः भिडीयो दृश्यले तपाईलाई विचलित पार्न सक्छ। )
सिहंदरवारदेखि करीव तीन सय मिटर दुरीमा रहेको नेपाल आयल निगमको कार्यालय बबरमहलस्थित मुख्य कार्यालयको मूलढोका नजिक बम विष्फोट भएको हो।
यसैबीच,संयुक्त जातीय मुक्तिमोर्चाका विश्वक्रान्तिले घटनाको जिम्मेवारी लिएका छन्।
घटनालगत्तै गृहमन्त्री विजयकुमार गच्छदारले घटनास्थलको निरीक्षण गरेका छन्। उच्च सुरक्षा स्रोतले घटनामा संलग्न रहेको आशंका एक जनालाई पक्राउ गरिएको जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस