माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, १२ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले भदौ १५ र १६ गते पोखरा उपत्यकामा आम हड्तालको घोषणा गरेको छ।
विमानस्थल निर्माणको लागि जारी आन्दोनलको सुनवाई नभएको भन्दै सरोकार समितिले आमहड्तालको घोषणा गरेको हो।
आमहड्तालको क्रममा पोखरा विमानस्थल पनि बन्द गरिने छ हवाई उडानहरु थप्प पारिने छ। आमहड्तालको क्रममा प्रेस, एम्बुलेन्स, दूध र पानी बोक्ने गाडी, दमकल, शव बाहन, सुरक्षा निकाय तथा कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध चल्नेछन्। समितिले वार्ता र संवादको ढोका भने खुल्ला राखेको छ।
अनशनको छैटौं दिन। तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम।
सरोकार समितिको मंगलबार बसेको बैठकले आफ्नो एक सूत्रीय मागको सुनवाई नगरिएको, पर्यटन मन्त्रालयले अनसनमा बसेका व्यक्ति,समूह, संस्थासँग काठमाडौंमा वार्ता गर्ने भनी जारी गरेको विज्ञप्तिले आन्दोलनको भावनालाई कदर नगरेको र निर्णय गर्न ढिलाई गर्ने मनशायले प्रेरित भएको ठहर गर्दै कडा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
सरोकार समितिले भदौ १३ गते पोखराका १०, ११, १२, १३, १४, १५ र १८ वडाका घरेलु औजारसहित उपस्थित बासिन्दा एवं पोखराका उपत्यकाका सरकारी र निजी विद्यालयमा कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विमानस्थल निर्माणस्थल चिनाउने तथा मानव साङ्लो प्रदर्शन गर्ने निर्णय समेत गरेको छ। मागको सुनवाई नभए अझ कडा आन्दोलनमा उत्रने पनि विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी सरोकार समितिले लामो समयदेखि जारी रिले अनसन लगायतका दवाबका विविध कार्यक्रमहरुमा आम जनसमुदायहरुको अपार सहभागिताको लागि समस्त दाजुभाई दिदीबहिनीहरुप्रति आभार व्यक्त गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस