हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १० भदौ । गत बैशाख २३ गते खारपानीमा गएको सेतीवाढीबाट पीडित तमुहरुलाई तमु धिं युके लण्डन इकाईले आइतवार सार्दीखोला वडा नं.९ चौरास्थित सयपत्री युवा क्लवको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एक लाख नौ रुपैया राहत वितरण गरेको छ।
लण्डन इकाईबाट पठाइएको राहत रकम तमु धिं युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी प्रसाद तमु, हुमकुमारी तमु, वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जित, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, पत्रकार नविन सिग्देल र एकराज गिरीले १३ बाढी पीडित परिवारलाई जनही ७ हजार ६ सय ९३ रुपैया हस्तान्तरण गरेका हुन्।
बाढीबाट ज्यान गुमाएका बलबहादुर तमु, बुद्धिश्री तमु, लक्ष्मी तमु, खम्बासिंह तमु, भैकुमारी तमु, पुर्णशोभा तमु, रश्मी तमु, सरिन तमु र इन्द्रबहादुर तमुका परिवार र पसल पुर्णरुपले बगाएका व्यवसायीहरु गोलमान तमु, सन्तोष तमु, हितकाजी तमु र तोरण तमुलाई उक्त राहत रकम प्रदान गरिएको हो।
तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
राहत प्रदान गर्दै गोर्खा कम्युनिटी पोखराका अध्यक्ष तथा तमु धिं युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी प्रसाद तमुले तमु धिं युके अन्तर्गतको लण्डन इकाईका अध्यक्ष चित्रबहादुर तमुको विशेष पहलमा पठाइएको राहत रकम बाढी पीडित तमुहरुलाई उक्त क्षेत्रमा नै पुगी वितरण गर्न आग्रह गरे अनुरुप सयपत्री क्लवको सहयोगमा राहत वितरण गरेको र राहतले थोरै भए पनि पिडामा साथ दिएको बताए।
राहत रकम ग्रहण गर्दै पीडित हितकाजी तमुले तमु धिं लण्डनबाट प्राप्त राहतले आउदो दिनमा केही साहस मिलेको बताए।
सयपत्री युवा क्लवका वरिष्ठ सल्लाहकार हुकुमसिंह तमुले देश विदेशमा रहेका महानुभावले सेती बाढी पीडितलाई पिडामा साथ दिएकोमा धन्यवाद व्यक्त गर्दै क्लवकै तर्फबाट पीडितलाई तेह्र लाख रुपैया राहत प्रदान गरेको बताए। कार्यक्रममा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु र सञ्चारकर्मी सरस्वती तमुले पनि बोलेका थिए।