एयोरपोर्ट नबन्दै एमाओवादीको एयरपोर्ट–काण्ड? ५० लाख लिएको स्वीकार
‘पूर्वसभासद् करणको अगुवाईमा रकम असुली’
राजेन्द्र अधिकारी/ डन न्युज –
पोखरा, १० भदौ। एमाओवादीभित्र यतिबेला ‘एयरपोर्ट–काण्ड’ चर्चाको विषय बनेको छ। ‘खोप्लाङ्गे जग्गा–काण्ड’ पछि आधा करोड रुपैयाँको यो काण्ड पनि चर्चित हुनुका पछाडि धेरै रहस्यहरु लुकेका छन्। जसलाई हामी श्रृंखलावद्ध ढंगले सप्रमाण आमजनताका माझ भण्डाफोर गर्दै जानेछौं।
आमपोखरेलीहरुलाई यसको वास्तविकता थाहा नहुन सक्छ। किनभने यो काण्डको रहस्योद्घाटन पोखरेलीहरुको माझमा नभई एमाओवादीको कार्यकर्ता भेलामा भएको थियो। शुरुमा एमाओवादीका कार्यकर्ताहरुलाई पनि रहस्यको पोको बनेको यो काण्ड विवादको घेराभित्र परेपछि मात्र सार्वजनिक हुन पुगेको हो। त्यसैले ‘एयरपोर्ट–काण्ड’को बारेमा समग्र आमनागरिकहरुलाई जानकारी दिने उद्धेश्यले हामीले श्रृंखलावद्ध रुपमा यो समाचार सम्प्रेषणको पुरा तयारी सकेपछि पहिलो श्रृंखलामा यस काण्डको केही रहस्यमात्र खुलाउने जमर्को गरेका छौं।
त्यसो त यो समाचार तयार पार्ने क्रममा हामीलाई विभिन्न अड्चन र चेतावनी आउन सुरु भईसकेका छन्। घुमाउरो पाराले भोलि जस्तो सुकै परिस्थिति पनि निम्तिन सक्ने चेतावनीहरु आई सकेको छ। जो यस घटनामा संलग्न छन्, उनीहरुले चौतर्फी रुपमा घेराबन्दी पनि सुरु गरिसकेको अवस्था हो। हामीले त्यसको वावजुद पनि यस समाचारलाई तपाईहरु माझ प्रस्तुत गर्ने हिम्मत गरेका छौं। यस अभियानमा हामी सिंगो पोखरेलीहरुको सहयोग र साथको पनि अपेक्षा राख्दछौं।
सबैभन्दा पहिलो तथ्य यो काण्डको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पोखरामा प्रशिक्षणका क्रममा आउने बेलामा लिखित रुपमा नै उठेको थियो। गत साउन २८ गते एमाओवादीका राज्य समितिका सदस्य अमोदले प्रस्तुत गरेको मागपत्रमा पनि यस काण्डलाई उठाईएको छ। यस विषयमा प्रश्न उठाउनुका पछाडि धेरै कारण रहेको एमाओवादीका कार्यकर्ताहरु बताउँछन्।
शुरुमा पूर्वसभासद् समेत रहेका एमाओवादीका राजकाजी गुरुङ ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला पार्टी वृत्तमा छाएपछि यस काण्डको रहस्य खुल्दै गएको एमाओवादीका कार्यकर्ताले बताए। उनले भने–‘शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै–थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो।’
यस काण्डको विषयमा गत साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले एयरपोर्ट काण्डका विषयमा कार्यकर्ताहरुलाई यर्थाथ जानकारी दिएका थिए।
सो प्रशिक्षण कार्यक्रममा एयरपोर्ट–काण्डको रहस्य खुलाउँदै कुमारले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए। उनले सो रकम एमाओवादीका विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब–किताब समेत सार्वजनिक गरेका थिए। प्रशिक्षण कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने–‘कुमारले हामी सबैलाई यस विषयमा खुलस्त जानकारी दिदैं अन्यथा नलिन समेत आग्रह गरेका छन्।’
त्यसो त नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ। तिनै कार्यहरुमा सहभागी ठेकेदारबाट पूर्वसभासद् तथा विमानस्थल सम्बन्धी समस्या समाधान कार्यदलका संयोजक राजकाजी गुरुङको नेतृत्वमा सो रकम ठेकेदारहरुबाट लिईएको एमाओवादीले स्वीकार गरिसकेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले यस विषयमा स्पष्टीकरण दिईएको कुमारको आवाजसहितको रेडर्कसहितको जानकारी दिएका छन्। जुन हामी प्रमाणका रुपमा आवश्यक परेको बेलामा सार्वजनिक पनि गर्नेछौं।
यसै विषयलाई लिएर प्रश्न गर्दा एमाओवादीका नेता कुमारले यो समग्र आन्दोलनलाई नियोजित ढंगले बदनाम गर्न कोही लागेको भन्दै यस विषयमा टेलिफोनमा कुनै पनि कुरा नभन्ने बताए। यता, पूर्वसभासद् राजकाजी गुरुङ ‘करण’ले उनकै शब्दमा भन्दा ‘पार्टीले लिएको कुरा, आधिकारिक ढंगले लिने कुरा आन्तरिक नीति हुने नै भयो भन्दै कसैको केही कुरा हो भन्ने चाँही होइन’ भने। तत्कालिन तमुवान राज्य समितिका इञ्चार्ज रहेका हितराज पाण्डेले यस विषयमा केही पनि बताउन चाहेनन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस