एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ भदौ । पूर्वप्रधानमन्त्री एंव राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले छिट्टै दलहरुवीच सहमति बन्न नसके मुलुकको राजनीतिमा भयंकर विष्फोट हुने चेतावनी दिएका छन्।
सहमतिको लागि दवाव दिन रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दवाव अभियान अर्न्तर्गत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा थापाले लामो समयसम्म मुलुक यथास्थितिमा रहनै नसक्ने ठाकुवा गर्दै छिट्टै सहमति बन्न नसक्ने मुलुकले नयाँ नेचुरल कोर्स लिने बताए।
उनले भने-खोलालाई थुनेर छिट्टै नहर बनाएर पानीलाई निकास नदिने हो भने त्यसले बाँध भत्काएर आफ्नो बाटो आफै लिन्छ त्यसैगरी नेपालको राजनीति पनि अब यस्तै चल्दैन। यसले पनि नेचुरल कोर्स लिन्छ। त्यस्तो अवस्थामा मुलुकमा अकल्पनीय क्षति हुन्छ।
कस्तो कोर्स भन्ने पत्रकारको जिज्ञासमा अध्यक्ष थापाले आफूले त्यसको स्पष्ट रुप देखेको भए पनि देश र जनताको हितको लागि आफूले त्यस्तो भन्न नमिल्ने स्पष्ट पारे। उनले गतिरोध अन्त्यमा राष्ट्रपतिको भूमिका परिस्थितिले टुङगो लगाउने भन्दै राष्ट्रपति चुप लागेर बस्ने अवस्था नरहेको बताए।
नेताहरुले ब्यक्तिगत र दलगत स्वार्थलाई अगाडि राखेर सहमति खोजेकोले सहमति कायम हुन नसकेको भन्दै केही समयको लागि राष्ट्रिय स्वार्थलाई मात्र अगाडि राख्ने हो भने मुलुकले निकास पाउने उनले ठोकुवा गरे। सहमतिको कुनै पनि विकल्प नरहेको स्पष्ट पार्दै थापाले अहिलेसम्म सहमतिको बाधक नेताहरुनै रहँदै आएको आरोप लगाए। उनले भने-सहमतिको अर्थ नेताहरुले नबुझेको भए पो अरुले सहयोग गर्ने बुझेकोले बुझपचाएपछि कसले के गर्ने?
उनले नेपाली नेताहरुमा सहमति गरेर मुलुकलाई निकास दिने क्षमता भए पनि बाहिर नेताहरु क्षमताहिन छन् भन्ने चर्चा सुरु हुन थालेको भन्दै त्यसतर्फ सावधान हुन शीर्षनेताहरुलाई सचेत पारे। मुलुकका अधिकांश संबैधानिक निकायहरु रिक्त हुँदै गएको अवस्थामा एकले अर्कोलाई आरोप लगाएरमात्र अगाडि बढ्न खोज्ने हो भने मुलुकमा कसैले पनि नसोचेको अवस्था पैदा हुने चेतावनी उनले दिए।
नेपाल सञ्चालनको साँचो अन्यत्रै छ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति कटाक्ष गर्दै थापाले भने- नेपाल सञ्चालनको साँचो नेपालमै मैले देखेको छु। प्रधानमन्त्रीले बाहिर देख्नु भएको छ भने मागेर ल्याए भई हाल्छ नि।
नेपालको हितको लागि भारत, चीन, अमेरिका बेलायतसहित सबै शक्ति राष्ट्रको सहयोग आवश्यक रहेको भन्दै थापाले नेपालमा सिक्किमको भुत हटाएर त्यस्तो कल्पना नगर्न आग्रह गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० वर्षसम्म यहि सरकार रहन्छ भनि दिएको अभिब्यक्तिको विषयमा राखेको जिज्ञासामा अध्यक्ष थापाले प्रचण्ड चर्चा गर्न लायकको ब्यक्तित्व नै नभएको टिप्पणी गरे। उनले भने-उट्पट्याङ कुरा गर्दै हिड्ने अवोध बालकले जस्तो कुरा उहाँ गर्नु हुन्छ । उहाँको कुरा चर्चा गर्न लायककै छैनन्।
माओवादी अधिनायकबादबाट उम्रेको तर अहिले बाध्यताबस लोकतन्त्रको अभ्यास गर्नु परेकोले पनि आफै रणभुल्लमा फसेर मुलुकमा समस्या ल्याएको थापाको तर्क थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस