एचकेनेपाल डट कम संवाददता-
काठमाडौ, ४ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पार्टीभित्र देखिएको विवाद र सरकारको नेतृत्व लगायतका विषयमा शीर्षनेताहरु पार्टी सभापति सुशिल कोइराल, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सहमति गरेर निकास दिन नसके आफूहरुले निकास दिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा डा महतले पार्टीभित्र नेताहरुवीच देखिएको टकराव सैद्धान्तिक नभई ब्यक्तिगत स्वार्थ भएकोले यसको समाधान जटिल नभएको दावी गरे।
साक्षात्कारमा उनले नेपाली काग्रेस तीन शीर्षनेताको भरमा नभई कार्यकर्ताको भरमा चलेको भन्दै अहिलेसम्म तीनै कार्यकर्ताको कारण पार्टी बचेको बताए। उनले पार्टीका तीन शीर्ष नेताहरुवीचको द्धन्द्धले बैठक तीनतिर हुने गरेकोप्रति असन्तुष्टि प्रकट गर्दै भने-अब तीन जना नेताहरुको घरमा पार्टीको दरवार लाग्दैन। उहाँहरुले मिलेर निकास दिन नसके हामी निकास दिन्छौं।
बरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशिल कोइरालाप्रति आक्षेप लगाएको प्रति संकेत गर्दे डा महतले भने-जसको जस्तो स्तर हुन्छ त्यसले सोही अनुसार ब्यवहार गर्छ। शेरबहादुर देउवाको स्तर जे हो त्यसै अनुसार उनले बोलेका हुन्। मेरो स्तर त्यो होईन। म पार्टीभित्रको कसैलाई सार्वजनिक रुपमा गाली गर्दिन।
सत्ता कब्जा गर्ने दिर्घकालिन रणनीति अनुसार माओवादीले संविधानसभा विघटन गरेको दावी गर्दै डा महतले राष्ट्रपतिले यस्तो अवस्थामा चुप लागेर बस्न नहुने स्पष्ट पारे। उनले भने-लोकतन्त्र र संविधानलाई सक्रिय बनाउन राष्ट्रपतिले कदम चाल्नै पर्छ। मौन भएर बस्न मिल्दैन। त्यसको लागि राष्ट्रपतिले तत्कालै सहमतिको सरकार गठनको लागि दलहरुलाई आब्हान गर्नु पर्छ। ढिला भईसक्यो।
उनले राष्ट्रपतिले आब्हान गर्ना साथ काग्रेसले प्रधानमन्त्रीको उमेदवार घोषणा गर्ने स्पष्ट पारे।
संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने अवस्था हुँदा हुँदै सरकारले ल्याएको अध्यादेश फिर्ता गर्नु राष्ट्रपतिको सकारात्मक कदम भएको धारणा राख्दै उनले भने-संविधानको ब्यवस्था विपरित संविधान संसोधन हुँदैन। राष्ट्रपतिले जे गर्नु भयो ठिक गर्नु भयो।
सरकारले अहिलेसम्म संविधानसंसोधनको प्रयास किन नगरेको? किन कि उ अन्यौलतामा सत्ता कब्जा गर्न चाहन्छ। प्रचण्डको शत्रुको क्याम्पमा बसेर विभाजन गर्ने पुरानो रणनीति भएको स्मरण गर्दै उनले अहिले सोही रणनीति अर्न्तर्गत सभापति सुशील कोइरालाप्रति लक्षित आक्रमण सुरु गरेको दावी गरे। डा महतले भने-पहिला गिरिजाबाबुलाई सत्रु बनाएर देउवाजीलाई हिलोमा फुलेको कमल भन्नु हुन्थ्यो। पछि शेरबहादुरलाई गाली गर्दै गिरिजाबाबुको पुच्छर समातेर बैतर्णी तर्नुभयो। प्रचण्ड स्वार्थ पुरा हुनेसँग नजिक र पुरा नभए टाढा हुनु हुन्छ। त्यो उहाँकेा चरित्र हो।
उनले थपे-नेपालमा भारतविरुद्ध राष्ट्रियताको लागि सुरुङ यूद्ध थाल्दै हुनु हुन्थ्यो। उहाँ भारतमा राष्ट्रपति कार्यालय र रअको कार्यालयमा गएर सहयोगको विन्ती पत्र हाल्दै हुनु हुन्थ्यो। उहाँको चरित्रको हजार जिब्रो भएको शेष नागले बयान गर्न सक्दैन भने मैले कसरी सक्ने? डा महतले माओवादीले सत्ताकब्जाको दिर्घकालिन रणनीति अनुसार संविधानसभा विघटन गराएर अहिले मुलुकमा ब्रम्हलुट मच्चाएको दावी गर्दै भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिताले सिमा नाघेको आरोप लगाए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस