एचकेनेपाल डट कम-
-यहाँका जनजातिहरुले सिंहदरबारको सिनोविरुद्ध मात्रै लडेर हुँदैन, समुद्रपारीका बादशाह जसले सदियौँदेखि हामीमाथि उत्पीडन थोपरेको छ, ऊ विरुद्ध लड्नुपर्छ । जनजातिहरुको यो दुर्दशाको प्रमुख कारण तत्कालीन राणा शासक र अंग्रेजको षडयन्त्र हो।
-संसारभरका न्यायका पक्षधरहरुले हाम्रो आन्दोलनलाई साथ दिएका छन्। जसले ब्रिटिस उत्पीडन विरुद्धको आन्दोलनमा साँच्चै सहयोग गर्छ, हामी सबैसँग आन्दोलन एकाकार गरेर लैजान चाहन्छौँ।
-पदमबहादुर गुरुङ
सभापति, गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
बेलायतको तीन महिने अभियान कस्तो रह्यो?
-तीन महिने बेलायत बसाइमा हरेक दिनजसो सयौँ गोरखाहरु उपस्थित कार्यक्रमहरुमा सहभागी भएँ। गेसोले दोश्रो चरणको आन्दोलन अन्तर्गत स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा बनाउन लागेको गोरखा स्मारकबारे बेलायतका गोरखाहरुलाई जानकारी गरायौँ। सबै गोरखाहरु अन्त्यन्त उत्साहित हुनुभएको छ। यसअघि गेसोले आन्दोलन गरिरहेको बखत नै गोरखा आन्दोलनलाई निस्तेज पार्न गोरखा ब्रिग्रेडको आदेशमा विभिन्न गोरखा संगठनहरु नै लागि परेका थिए। जतिसुकै षडयन्त्रको बीचमा पनि गोरखा आन्दोलन अघि बढयो। हामीले अन्यायमा पारिएका गोरखा सैनिकहरुलाई न्याय दिलाएरै छोडयौँ। अझै पनि न्यायिक संर्घष जारी छ । बाँकी संर्घष र कार्यभारहरुलाई बढाउने अभियान सुरु गरे लगत्तै फेरि गोरखा विग्रेडका आदेशमा हिजो जसरी केही मान्छेहरु सल्बलाएका छन्। जब-जब गोरखा आन्दोलन उचाइमा पुग्छ, तब बिग्रेड अफ गोर्खाजको निर्देशनमा नयाँ शक्तिहरुले केही न केही गर्ने गरेका छन्। तीन महिने बेलायत बसाइमा सबै खालका षडयन्त्रलाई चिरेर गोरखा आन्दोलनलाई उचाइमा लाने काममा महत्वपूर्ण उपलब्धि भएको छ।
अस्ति बेलायतमा १ लाख ११ हजार हस्ताक्षर बुझाइएको प्रचार भयो, खास के हो त्यो?
हो, विभिन्न पाँच संगठन मिलेर उनीहरुले महिनाँै हस्ताक्षर अभियान चलाए र १ लाख ११ हजार बुझाएको प्रचारबाजी गरे। जबकि यो भन्दा अघि गेसोको नेतृत्वमा गोरखा आन्दोलनकी अभियन्ता बेलायती अभिनेत्री जोअना लुम्लेको आहृवानमा भएको ५ दिने हस्ताक्षर अभियानबाट संकलित २ लाख ५ हजार हस्ताक्षर बेलायती प्रधानमन्त्रीलाई बुझाइसकिएको थियो। गोरखाहरुको पक्षमा प्राध्यापक, बुद्धीजीवि, वकिल, पत्रकारलगायतले हस्ताक्षर गरे। हस्ताक्षर गर्नेहरुको घरनम्बर, बेलायती पोष्ट कोर्ड नम्बर, एउटा हामीलाई र अर्को सिधै बेलायती प्रधानमन्त्रीको कार्यालयमा पठाइदिएको थियो। पाँच दिनमा २ लाख ५० हजार हस्ताक्षर बुझाउँदा संसारको ध्यान तानेको थियो। त्यो देखेर गोरखा बिग्रेडका अफिसर अर्थात् जातिवादीहरु तर्सिएका थिए। अहिले ज्ञानराज राईको संगठन युबिजिएनलाई गोरखा बिगेडले १८ महिनाअघिदेखि हस्ताक्षर अभियानमा खटाएका रहेछन्। अठार महिनासम्म हस्ताक्षर गराउँदा करिब एक लाख भयो भन्ने भयो। तर, त्यो पनि सडकमा बसेर एकैजनालाई पटक पटकसम्म हस्ताक्षर गराएका रहेछन्। हस्ताक्षर गर्नेहरुको कसैको पनि ठेगाना लेखिएको छैन। यो अभियानको पहिलो नियत बिग्रेड अफ गोर्खाजले गोरखाहरुको पक्षमा जनमत कम रहेछ भन्ने देखाउनका लागि सुनियोजित रुपमा चलाएको चाल थियो। दोश्रो, ती हस्ताक्षरहरुको ‘भेरिफिकेसन’ गर्ने हो भने त्यो अवैधानिक छ। उनीहरुलाई बेलायती नियम अनुसार कानुन लाग्छ। यस्तो नौटंकीलाई अब गोरखाहरुले विश्वास गर्दैनन्।
गेसोले निर्माण गर्न लागेको गोरखा स्मारकको बारेमा धेरै स्थानमा जानकारी सभा पनि भएको थियो, गोरखा स्मारक निर्माण बारेमा त्यहाँका गोरखाहरुको कस्तो प्रतिक्रिया पाउनुभयो?
नेपालीहरुको स्वाभिमानलाई उँचो बनाउने गरी निर्माण गर्न लागिएको गोरखा स्मारक निर्माणको खबरले सबै बेलायतमा बसेका नेपालीहरु खुसी र उत्साहित भएका छन्। गोरखा स्मारक निर्माणमा सबै खालका सहयोग गर्न तयार रहेको उहाँहरुले सुनाउनुभएको छ। उहाँहरुको कुराले हामीलाई झनै उत्साहित बनाएको छ। अब हामी नोमेम्बर २७ मा गोरखा स्मारकको शिलान्यास गदैछौँ।
गोरखा स्मारकको शिलान्यास नोमेम्बर २७ मै किन?
२७ नोमेम्बर २००२ का दिन अन्यायमा परेका गोरखा सैनिकहरुले विजयको सुरुआत गरेका थिए। दोश्रो विश्वयुद्धमा जापानले युद्धबन्दी बनाइएका गोरखा सैनिकहरुलाई क्षतिपूर्ति दिन बेलायती रोयल कोर्ट अफ जस्टीसले बेलायती सरकारलाई आदेश दिएको थियो। बेलायती साम्रज्यका पक्षबाट लड्दा जापानले युद्धबन्दी बनाएका गोरखा सैनिक र तिनका परिवारले जनही १३ लाखका दरले पाएका थिए। त्यो दिन गौरवमय गोरखा आन्दोलनको विजयको सुरुआतको दिन पनि थियो। हाम्रो विजयको सुरुआतको यही दिनमा हामी गोरखा स्मारकको शिलान्यास गर्न गइरहेका छौँ। हामी त्यसअघि युद्धमा मारिएका हाम्रा पुर्खाहरुको किरिया बस्छौँ, साल्मेडाँडामा नै। गेसोलाई प्राप्त जानकारी अनुसार बेलायती साम्राज्यको पक्षबाट लड्दा गुरुङ, मगर, राई, लिम्बु, तामाङ, शेर्पा, थकाली, नेवार क्षेत्री, बाहुन, सुनुवार, दुरा र दलित गरी १३ जातिका मारिएका थिए। शिलान्यास अघि नै यी एघारै जातिको संस्कार संस्कृति अनुसार उनीहरुकै धर्म गुरुहरु बोलाएर काजकिरिया गरि रोइरहेका पितृहरुको आत्मालाई स्वर्ग तार्नेछौँ। यी १३ वटै जातिका जातीय संस्थासँग सल्लाह गरेर उनीहरुकै धर्म गुरुहरुद्वारा उनीहरुकै संस्कार अनुसार बोलाएर हामी काजकिरिया गर्न लगाउछौं। यो अभियानमा संसारभरका सञ्चार माध्यमलाई निमन्त्रणा गर्नेछौं। यस्तै हामीले हाम्रा पुर्खाहरु कहाँ-कहाँ मारिएका थिए – अनुसान्धान पनि सुरु गरेका छौँ। यसका लागि डा. चन्द्रबहादुर गुरुङ र प्राध्यापक नारायण गुरुङ लागिरहनुभएको छ। शिलान्यास अघि सबै राष्ट्रबाट अस्तुको रुपमा एक मुठी माटो ल्याउँछौँ। र, समाधिमा राख्नेछौँ।
यतिखेर नेपालमा उत्पीडन विरोधी आन्दोलन केन्द्रमा छ, तपाईंहरु पनि लामो समयदेखि उत्पीडन विरोधी आन्दोलनमा हुनुहुन्छ, यी दुइ आन्दोलनलाई एकाकार गरेर लान सकिन्छ?
अवश्य सकिन्छ। हामी २२ वर्षदेखि निरन्तर बेलायती उत्पीडन विरुद्धमा न्यायिक संर्घषमा छौँ। यसबीचमा हामीले धेरै न्यायिक संर्घषका पक्षपाती, उत्पीडन विरोधी आन्दोलनका हिमायतीहरुसँग संवाद र सहकार्य गरेका छौँ। संसारभरका न्यायका पक्षधरहरुले हाम्रो आन्दोलनलाई साथ दिएका छन्। जसले ब्रिटिस उत्पीडन विरुद्धको आन्दोलनमा साँच्चै सहयोग गर्छ, हामी सबैसँग आन्दोलन एकाकार गरेर लैजान चहान्छौँ। तर, सहकार्य वा आन्दोलनको मुख्य अभीष्ट ब्रिटिसको उत्पीडन विरुद्ध नै हुनुपर्छ। हामी गोरखाहरुको न्यायिक संर्घषबाट कहिल्यै पनि विचलित हुँदैनौँ। अर्कोतिर यहाँका जनजातिहरुले सिंहदरबारको सिनोविरुद्ध मात्रै लडेर हुँदैन, समुन्द्र पारीका बादशाह जसले सदियौँदेखि हामी माथि उत्पीडन थोपरेको छ, ऊ विरुद्ध लड्नुपर्छ। जनजातिहरुको यो दुर्दशाको प्रमुख कारण तत्कालीन राणा शासक र अंग्रेजको षडयन्त्र हो। त्यही षडयन्त्रको शिकार भएका छौँ हामी जनजाति। जनजातिहरुले यस तथ्यलाई राम्ररी बुझेर र गहन अध्ययन गरेर आफ्नो बर्बादीको मुख्य जरो खोज्नुपर्छ।
गोरखा आन्दोलनमा जनजातिहरुको उतिधेरै सहयोग नपाएको गुनासो सुनिदै आएको छ, के त्यस्तै हो?
२२ वर्षेखि गेसोले सञ्चालन गर्दै आएको गोरखा आन्दोलन पहिलो त संसारभरका न्यायका पक्षपातीहरुको साझा आन्दोलन थियो। यो सत्यलाई संसारभरका न्यायका पक्षधरहरुले स्वीकार गरेका छन्, सहानुभूति दर्शाएका छन्। दोश्रो, यो नेपालीहरुको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको आन्दोलन थियो। तर, बिडम्बना केवल गोरखाहरुको आन्दोलनको रुपमा हेरियो। संसारले महत्व दिँदा चासोका साथ वास्ता गर्दा देश भित्रैकाहरुले बेवास्ता गर्नु बिडम्बना नै थियो। तेश्रो, यो आन्दोलन आदिवासी जनजातिहरुको आफ्नै आन्दोलन थियो, किनभने गोरखाहरु सबै आदिवासी जनजाति थिए। आदिवासी जनजातिका नेताहरुले व्याक्तिगत रुपमा सहयोग गरे त्यो अलग कुरा हो। तर, जातीय संस्थाले उतिधेरै चासो देखाएनन्। हामीले समुन्द्रपारीका बादशाहसँग लडेर अरबौं पाउण्ड देशभित्र भित्रयाएका छौँ, त्यो अरबौं पाउण्ड पाउने त सबै आदिवासी जनजातिहरु नै थिए। हाम्रो हरेक आन्दोलनको सफलताको भागीदार त तिनै आदिवासी जनजाति थिए। तर, त्यो बोध गर्न सकेनन्। आशा गरौं, अबका आन्दोलनमा यो बोध गरेर गोरखा आन्दोलनको स्वामित्व र अपनत्व बोध ग्रहण गर्नेछन्।
गोरखा आन्दोलनप्रति स्वयम् आदिवासी जनजातिहरु नै किन यतिधेरै अनुदार भएका होलान त?
अनुदार नै त नभनौँ। बेवास्ता गरिएको भने अवश्य हो। हामी गोरखाहरुको पक्षमा लडिरहेका छौँ। यसको मतलब हामी आदिवासी जनजातिको पक्षमा लडिरहेका छौँ। गोरखाहरुले बेलायती साम्राज्यलाई झुकाउनु भनेको नेपालीहरुले झुकाउनु हो। आदिवासी जनजातिहरुले झुकाउनु हो। यतिसम्म कि सफलताको खुसीसम्म बाँड्ने आँटसम्म गरेका छैनन् यहाँकाहरुले। हामीले ब्रिटिसलाई पराजय गरेर गोरखालाई न्याय दिलाएको बेला संसारभरले हामीलाई बधाई शुभकामना दिए। संसारले हामीलाई अभिवादन गरेको थियो। तर, यहाँका ठूला दलका नेताहरुसँग, यहाँका आदिवासी जनजाति नेताहरुका नेताहरुसँग कुन्नि के बाध्यता थियो? बधाई दिने आँटसम्म गरेनन् हामीलाई ! सायद, उनीहरुलाई हामीलाई बधाई दिए ब्रिटिस रिसाउँछ भन्ने त्रास थियो होला। एमाले वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारको पालामा कसैले नलिएको तक्मा समेत गोरखा आन्दोलनलाई दिने आँट गरेनन्। किनभने गेसो आन्दोलनलाई सम्मान गर्दा ब्रिटिसहरु रिसाउँछन् भन्ने उनीहरुमा त्रास छ। मलाई त यस्तो लाग्छ, यो मुलुक नै स्वाधीन छैन, यहाँका नेताहरु कतैबाट सञ्चालित छन्, यस्ता अरुबाट सञ्चालित हुने नेताहरुले संसारलाई चकित पार्ने गरी भएको गोरखा आन्दोलनबारे बोल्न कसरी आँट गर्छन् त? हाम्रो विजयमा अरुले बधाई दिएनन्। लाहुरेकै छोरा स्याङजाली नेता मेरा भाइ तुलबहादुर गुरुङ र भान्जा हितकाजी गुरुङले समेत बधाई मामा भनेनन्। खोइ, दाइको कानमा, मामाको कानमा उनीहरुले सुटुक्क बधाई दिएको भए ब्रिटिसले सुन्दैन थियो होला (लामो हाँसो)। भाइ र भान्जाले त दिएनन् झन् अरुले के दिन्छन्?
पहिचानको आन्दोलनमा गोरखाहरुको योगदान कस्तो रहनेछ?
पहिचानको मात्रै होइन, जनताका पक्षमा भएका ऐतिहासिक परिवर्तनहरुमा गोरखाहरुको सहयोग मात्रै होइन महत्वपूर्ण भूमिका रहेको छ। गोरखाहरुले केवल बेलायती दासत्वको बन्दुक मात्रै बोकेका छैनन् देशभित्रका परिर्वतनका आन्दोलनहरुमा पनि हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छन्। तपाईं हेर्नुहोस्, २००७ सालको क्रान्ति ०४६ साल र ६२/६३ सालका जनआन्दोलन र त्यस बीचमा भएका विभिन्न आन्दोलनहरुमा गोरखाहरुको महत्वपूर्ण भूमिका रही आएकै छ। फरक कति हो भने, हिजो राणा र ब्रिटिस मिलेर षडयन्त्रमा नफँसाएको भए आज ती मारिएका लाखौँ गोरखा सैनिकले देशलाई सुन्दर र समृद्ध बनाइसक्ने थिए। हामीले २००७ साल वा २०४६ कुर्नु नै पर्ने थिएन, उति बेला नै राणाविरुद्ध आन्दोलन गर्ने थिए। तर, योजनाबद्ध तरिकाले हामीलाई सिध्याउने काम गर्यो। अझै पनि हामी गोरखा सैनिकहरु उत्पीडन र शोषण विरोधी जुनसुकै आन्दोलनलाई सहयोग गर्न तयार छौं। तर, त्यो देशको हितमा हुनुपर्छ। त्यो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनताको पक्षमा हुनुपर्छ।
प्रस्तुतीः राजेश राई