केजिन राई / एचकेनेपाल डट कम-
ब्रसेल्स बेल्जियम, १३ अगष्ट । नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले ‘आदिवासी संचार, आदिवासी आवाज सशक्तिकरण” भन्ने सयुक्त राष्ट्र संघ यसबर्षको तथा “आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधान” भन्ने महासंघको केन्द्रीय नारा सहित १८औ विश्व आदिवासी दिवसको अवसर पारेर विभिन्न जातीय पहिचान सहितको भेषभूषा र झाँकीहरुसहित यूरोपेली संसद भवन अगाडि प्रदर्शन गरेको छ।
युरोपको मुटु ब्रसेल्स बेल्जियममा रहेको युरोपेली संसद भवन अगाडि लगभग चार घण्टासम्म थकाली, थारु,राई-लिम्बु, गुरुंग,शेर्पा, मगर, तामांग तथा नेवारी भेषभूषामा आएका सयौ नेपाली आदिबासी जनजातिहरूले बिभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
आफ्ना मागहरू संघभित्र आबद्ध जर्मनी, बेलायत, स्पेन, फ्रान्स, इटाली, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगललगायत देशका सांसदहरू र युरोपेली संघका प्रमुख अंगहरूमा ध्यानाकार्षण गराउदै उनीहरूले प्रदर्शन गरेका हुन्।
आदिबासीको माटोसंगको सम्बन्धलाई मान्यता दिईनु पर्ने, अन्तर्राष्ट्रिय सन्धी अनुरुप नागरिक र राजनैतिक अधिकारको सुनिश्चितता गरिनु पर्ने, श्रोत र साधनमाथि आदिबासीको हकको ग्यारेन्टी गरिनु पर्ने, आई एल १६९ अभिसन्धीको सम्मान गरिनु पर्ने, जातीय पहिचान सहितको संघिय संबिधान जारी गरिनु पर्नेलगायतका माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए। प्रदर्शनको क्रममा विश्व आदिबासी दिवस सफल पारौ,विश्व आदिबासी एकता अमर रहोस् भन्ने नारासमेत उनीहरूले घन्काएका थिए।
प्रदर्शन लगत्तै युरोपेली संघ अध्यक्ष, सभामुखका प्रतिनिधिले बार्ता गर्न अनुरोध गरेपछि उनीहरूको ११ बुंदे माग सहितको दुई पृष्ठ लामो ज्ञापनपत्र आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पाको नेतृत्वमा बुझाएका थिए। उनीहरूले नेपाली आदिवासी जनजातिको समस्या, जातीय पहिचान सहितको संघिय संबिधान तथा राज्यसंग राखिएको राजनैतिक मागहरु नेपालमा लगानी गरिरहेको यूरोपेली मुलुकहरूको ध्यान केन्द्रित गर्न, सबैखाले लगानीहरुको उचित प्रयोग भए नभएको बारेमा चनाखो गराउनको लागि युरोपियन संसदका सभामुख, मार्टिन सुल्ज, युरोपियन कमिसनका अध्यक्ष जोसे मानुअल बारासो तथा युरोपियन संघका अध्यक्ष हेरमान भन रोम्पुयलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउन युरोपियन कमिसन, युरोपेली संघ, युरोपेली संसदको कार्यालयमा महासंघ संग आबद्ध र बेल्जियम सरकारद्वारा मान्यता प्राप्त भीजेडब्ल्यू तमू समाज बेल्जियमका अध्यक्ष श्रीप्रशाद गुरुंग, विश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर, थकाली समाज बेल्जियमका अध्यक्ष प्रविण गौचन, थारू समाजका अध्यक्ष शोमना थारू, संयुक्त किरात समाजका महासचिब मुना राई, तामांग समाज बेल्जियमका सल्लाहकार जित बहादुर लामालगायत सहभागी थिए।
कार्यक्रममा संयुक्त राष्ट्र संघद्वारा जारी आदिवासी नारासहित नेपाली राजनीति र आदिवासी जनजातीको हक हितसंग सम्बन्धित नाराहरु लगाउने र प्ले कार्डहरु प्रदर्शन गर्ने कार्य गरिएको थियो। जनप्रगतिशील मंच बेल्जियमका सल्लाहकार बिष्णु भुजेल, लिलाधर पन्त, उपाध्यक्ष जित बहादुर लामा, महासचिब प्रेम पाठक, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका अध्यक्ष कृष्ण तिवारी लागायतका ब्यक्तिहरूले पनि कार्यक्रममा एक्यबद्धता जनाएका थिए भने महासंघ अध्यक्ष पेम्बा गेल्बु शेर्पाको संयोजकत्वमा आयोजित प्रदर्शनको कार्यक्रममा सोमना थारू, राम गुरुङ , श्रीप्रशाद गुरुङ, मुना राईले आदिबासी जनजातिहरूको हक अधिकारको बारेमा सम्बोधन गरेका थिए भने कार्यक्रम महासंघका महासचिब कुल मगरले संचालन गरेका थिए।
युरोपको राजधानीमा पहिलो पटक आयोजना गरिएको यस्ता कार्यक्रम बढी प्रभाबकारी हुने बताउदै नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पाले आफ्ना जायज मागहरू सम्बोधन नभए आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने बताउदै ज्ञापनपत्र नेपाली दूताबास बेल्जियम मार्फत बोधार्थ नेपाल सरकारका प्रधानमन्त्री समेतलाई पठाईने जानकारी गराउदै सो प्रदर्शनको अन्त्य भएको घोषणा गरेका थिए।