Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोर्तुगलमा १८ औं विश्व आदिवासी दिवस

योगेन्द्रमिलन छन्त्याल/ एचकेनेपाल डट कम-
पोर्तुगल, २९ साउन । आइतबार पोर्तुगलमा डेढ सयभन्दा धेरै जनजातिहरु भेला भइ १८औँ आदिवासी दिवस मनाएका छन्। आदिवासी जनजाति महासंघ पोर्तुगलको आयोजनामा किराँत समाजको प्रथम अधिवेशन र शेर्पा किदुग पोर्तुगलको फाङ्गी पर्वसमेतको संयुक्त कार्यक्रममा उनीहरुले दिवस मनाएका हुन्।

कार्यक्रममा वक्ताहरुले जनजातिहरुको एकता र आन्दोलनहरुमा सशक्त सहभागिताका लागि जोड दिएका छन् । एनआरएन पोर्तुगलका अध्यक्ष रमेशकुमार गुरुङले पोर्तुगलका जनजातिहरुको मिलेमत्तोलाई संसारभर नमूना बनाउनुपर्ने आव्हान गर्दै जनजाति आन्दोलनलाई उल्लेखनीय योगदान दिनुपर्ने कुरामा जोड दिएका छन् । किराँत समाज अध्यक्ष गणेश लिम्बुले विश्वको इतिहासमा परिवर्तनको संघारमा स्वतस्फुर्त रुपमा उपयुक्त वातावरण बन्ने स्मरण गराउँदै सदियौदेखि जनजातिहरुलाई ठग्दै र हेप्दै आएको ब्राह्मणवादी संरचनालाई ठेगान लगाउन जनजातिहरु एकगठ हुनुपर्ने माहौल सृजना भएको बताएका छन्।

महासंघका सल्लाहकार राम गौचनले सङ्गठित र मजबुत हुन सके मात्र जनजातिहरुले चाहे बमोजिम परिवर्तन गर्न सकिने चाहना व्यक्त गरे । मगर समाजका महासचिव मीनबहादुर पुनले जनजाति आन्दोलनबाट प्राप्त पहिचान र प्रतिनिधित्वको उपलब्धि चित्तबुझ्दो नरहेको र अब पहुँचका लागि संघर्ष गर्न सबैलाई अनुरोध गरे।

शेर्पा किदुगका अध्यक्ष पेम्बाछिरी शेर्पाले राजनीतिक नेताहरुले सधै जनजातिलाई ‘फुटाउ र राज गर’ सिद्धान्तमा फसाएको स्पष्ट पारे । तमु समाज अध्यक्ष पञ्च गुरुङले राजनीतिक सहभागितामा जोड दिए । गुरुङले प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीमा आबद्धताका लागि तयार रहन समेत इङ्गित गरे । अर्का वक्ता तामाङ समाजका अध्यक्ष पाल्जोर लामाले जनजातिहरुले आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने विचार राखे।

राम गौचन, रमेशकुमार गुरुङ, बिबि लिम्बु र गणेश लिम्बुले हालै सम्पन्न अधिवेशनद्वारा निर्वाचित महासंघका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । किराँतहरुले गणेश लिम्बुको अध्यक्षतामा उपाध्यक्ष नरभूपाल लिम्बु, सचिव सीता बान्तवा, सहसचिव राजन सुनुवार, कोषाध्यक्ष सन्तुकला राईलगायतको ११ सदस्सीय कार्यसमिति चयन गरे।

स्थानिय कलाकारहरुले जातिय भेषभूषासहित उनीहरुका ठेट वा वास्तविक संस्कृति झल्कने लोकनृत्यहरु प्रस्तुत गरेका थिए। अधिकांश सहभागीहरु आ-आफ्नो जातिय भेषभूषामा सजिएको देख्दा नेपालमै रहेको झझल्को हुन्थ्यो सबैलाई। त्यसमा साकेला, सालैजो र देशभक्ति भावनाले ओतप्रोत गीत र नृत्यहरु हेरेर सबैले रमाइलो माने । नेपाली परिकारसहितका खानपीन र नाचगानमा वातावरण अझ मनोरञ्जनात्मक बन्यो।

अध्यक्ष दावासाङ्गे पाख्रिनको अध्यक्षता र उपाध्यक्ष तीर्थ सुब्बाको स्वागत मन्तव्य रहेको रुवा दा फे २३, लिस्बोनमा सम्पन्न कार्यक्रम महासचिव आङफुरी शेर्पाले सञ्चालन गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by