Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बहुपहिचान होइन मिश्रित पहिचानः परी थापा

रूद्र श्रीसमगर/ एचकेनेपाल डट कम-
पोखरा, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का पोलिटब्यूरो सदस्य एवं पूर्व सभासद् परी थापाले राज्यलाई नयाँ संरचनामा लैजाँदा बहुपहिचान नभई मिश्रित पहिचानका आधारमा गरिनुपर्ने बताएका छन्।

पार्टी निकटको अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत), जिल्ला समिति, कास्कीले १८ औं विश्व आदिवासी दिवसका अवसरमा सोमबार पोखरामा आयोजना गरेको ‘विश्व आदिवासी दिवस र आदिवासी जनजातिको अधिकारको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले उत्पीडनका आधारमा राज्यको नयाँ संरचना निर्माण आवश्यक भएको बताए।

सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका समस्या समाधान गर्ने गरी राजनीतिक निकास खोजिनुपर्ने आवश्यकता औंल्याउँदै थापाले संविधान निर्माण कार्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए। आदिवासी जनजातिहरू सदियौंदेखि उत्पीडनमा परेकाले पहिचानसहितको संघीयताले मात्र समस्या समाधान हुने भन्दै थापाले जातीय राज्य नभई जातीय पहिचानको कुरा उठेको बताए।

कार्यक्रममा विशेष अतिथि एवं अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)का केन्द्रीय अध्यक्ष नगेन्द्र राईले पहिचानसहितको संघीयतामा राजनीतिक दलहरू सहमत भए केही समयका लागि संविधानसभाको पुनर्स्थापना गरिनु उपयुक्त हुने बताए। संविधानसभाको पुनर्स्थापनामा सहमति बन्न नसके दोश्रो विकल्पका रूपमा मात्र संविधानसभाको निर्वाचनमा जान सकिने भन्दै राईले त्यसो पनि नभए संयुक्त मोर्चा बनाएर शान्तिपूर्ण सशक्त आन्दोलनको विकल्प नभएको बताए।

अन्तरक्रियामा नेकपा (एकीकृत)का केन्द्रीय सदस्य एवं तमुवान स्वशासित प्रदेश इञ्चार्ज केशबहादुर परियार, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्ती, उपाध्यक्ष एवं नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, थकाली सेवा समिति, पोखराका अध्यक्ष अम्बर तुलाचन, नेकपा-माओवादीका तमुवान राज्य समिति सदस्य अशोक छन्त्याल ‘अर्जुन’, एकीकृत नेकपा (माओवादी)का सु. इमानबहादुर गुरुङ, नेकपा (माओवादी)का भक्त रसाइली, मानवअधिकारवादी नेता टेकनाथ बराल, अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर श्रीसमगर, माओवादी क्रान्तिकारी अध्ययन संघका केन्द्रीय संयोजक भेषराज त्रिपाठी, नेपाल तमु विद्यार्थी छोंज धिंका केन्द्रीय महासचिव लालबहादुर गुरुङ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, कास्कीका उपाध्यक्ष धनबहादुर विक, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज), कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, पत्रकार सुष्मा पौडेल, जनआन्दोलन घाइते तथा सहिद परिवार समाज, कास्कीका अध्यक्ष ढाकाराम पौडेललगायतले बोलेका थिए।

महासंघका कास्की जिल्ला अध्यक्ष काजीबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य वीरबहादुर पुर्जामगरले गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by