Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवारः नेतृ सुजाता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ साउन । नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काग्रेसले भावी प्रधानमन्त्रीको रुपमा उपसभापति रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने खुलासा गरेकी छिन्।

रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले आगामी विहीबार बस्ने पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा सभापति सुशील कोइराला स्वयंले उपसभापतिको नाम प्रस्ताव गर्ने खुलासा गरिन्।

साक्षात्कारमा उनले भनिन-सभापतिले पार्टीको ध्यान केन्द्रीत गर्नु पर्छ। त्यसो गर्न नसके पार्टी ध्वस्त हुन्छ। बरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको अभिभावक हुनु हुन्छ। अभिभावक पार्टीलाई बलियो बनाउन लाग्नु पर्छ। त्यसैले उपसभापति पौडेलेलाई अगाडि सार्नु सबैभन्दा उपयुक्त हुन्छ।

नेतृ कोइरालाले उपसभापति पौडेलको नाममा आफ्नो पूर्ण समर्थन रहेको भन्दै पौडेललाई आफूले सघाउने घोषणा समेत गरिन्। काग्रेसले प्रधानमन्त्रीको उमेदवारी तय नगर्दा मुलुकमा समस्या आएको दावी गर्दै उनले काग्रेसले छिट्टै प्रधानमन्त्रीको उमेदवारी सहमतिमा घोषणा गर्ने बताईन्।

सभापति वा बरिष्ठ नेता मध्ये कुनैको नाम घोषणा गरेर पछि प्रधानमन्त्री बन्न नसके पार्टी सकिने चेतावनी दिदै उनले नेपाली काग्रेसले समाप्त पार्ने षडयन्त्र भईरहेकोले सचेत हुन आग्रह पनि गरिन्। कोइरालाले संविधान निर्माण गर्न नसकी विघटन भएको संविधानसभा पुनस्थापना गरिए मुलुक झनै ठूलो जटिलतामा फस्ने चेतावनी दिदै ताजा जनादेशकालागी तयार रहन सबैलाई आब्हान गरिन्।

कामचलाउ भएर अर्को सरकारलाई कुरिरहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामा माग्नुको कुनै तुक नभएको भन्दै नेतृ कोइरालाले आन्दोलनभन्दा पनि सहमति, सहकार्य र मेलमिलापबाटै सरकार परिवर्तन गर्नु पर्ने तर्क गरिन्। उनले भनिन-प्रधानमन्त्री हटाउन आन्दोलन गर्नु पर्दैन। उहाँ काग्रेसको उमेदवार पर्खेर बस्नु भएको छ। तत्काल काग्रेसले प्रधानमन्त्रीको उमेदवार घोषणा गर्नु पर्यो।

माओवादी अध्यक्षले दिनमा चार खाले कुरा गर्दा समस्या जटिल बन्दै गईरहेको दावी गर्दै कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिमागी सन्तुलन कायम नभएको आशंका ब्यक्त गरिन्। उनले भनिन-प्रचण्डजी दिनमा चार खाले कुरा गर्नु हुन्छ मलाई त उहाँको दिमागले काम गरेको छैन जस्तो लाग्छ। उहाँले उत्तरदायीपूर्ण रुपमा काम गरिरहनु भएको छैन।
आफू प्रधानमन्त्रीको लागि महत्वकांक्षी नभएको भन्दै उनले आफ्नो प्रयत्न शान्ति, प्रजातन्त्र र स्थायीत्वको लागि रहने प्रतिबद्धता ब्यक्त गरिन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by