एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ साउन । उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको पुनःस्थापना गरेर खोजिने निकास नै अहिलेको राजनीतिक गतिरोध अन्त्यको सर्वमान्य विकल्प हुने धारणा राखेका छन्।
रिपोर्टर्स क्लब नेपालले दलहरुलाई सहमति र गतिरोध अन्त्य गरी निकास खोज्न दवाव दिने उद्देश्यले सुरु गरेको अभियान अन्तर्गत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँग कुरा गर्दै उपराष्ट्रपति झाले प्रमुख दलहरुवीच सहमति गरेर अन्तरिम संविधानलाई संविधानसभाबाट संसोधन गराएर गतिरोध निकासको बाटो खोल्नु नै सबै भन्दा राम्रो भएको बताए।
उनले भने- संविधानसभाको पुनःस्थापना वा निर्वाचन जुनसुकै विकल्पमा जान पनि संविधान संसोधन गर्नै पर्छ। संविधान संसोधन गर्न संविधानसभा चाहिन्छ नै। म यसमा स्पष्ट छु तर निकास दलहरुले मात्रै दिन सक्छन्।
उपराष्ट्रपति झाले राष्ट्रपतिले बाधा अड्काउ फुकाएर संविधानको संशोधन हुन नसक्ने स्पष्ट पार्दै संविधानसभाबाट डेडलक फुकाए सबैलाई मान्य हुने बताए। उनले भने-संविधानको संसोधन राष्ट्रपतिले बाधा अडकाउ फुकाएर गर्ने होइन। संविधानसभाबाट मात्रै संशोधन गर्न सकिन्छ। गतिरोधको अन्त्य राष्ट्रपति र उपराष्ट्रपतिले गर्न नसक्ने उल्लेख गर्दै उनले भने- निकास राजनीतिक दलहरुले मात्रै दिन सक्छन्। राष्ट्रपतिले सक्ने घच्घच्याउने काम गरिनै रहनु भएको छ। अब राष्ट्रपति हुँदा हुँदै मैले बोल्ने र गर्ने कुरा केही हुँदैन।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस