Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली श्रमिकहरुले तलव पाएनन्

तिलविक्रम थेबे / एचकेनेपाल डट कम-
दोहा कतार, नमस्ते नेपालले गतसालको अक्टोवर महिनादेखि सप्लाईमा टाइसिर कम्पनीमा सेक्युरिटीमा काम गर्न पठाएका धेरै नेपालीहरुले तलव पाएका छैनन्।

२५० जनाभन्दा बढी कामदारहरुलाई टाइसिर कम्पनीमा नमस्ते नेपालले पठाएको थियो। उनीहरु मध्येकाहरु जुलाई महिनादेखि आफ्नो बाँकी रहेको तलव उपलव्ध गराउन नेपाली दूतावासमा सहयोगका लागि धाएका धाएकै छन् भने उनीहरुलाई सप्लाईमा पठाउने नमस्ते नेपालका सरोज पुडासैनीले तलव दिन आनाकानी गरिरहेको पीडीत कामदारहरुले बताएकाछन्।

पीडित कामदारहरुका अनुसार जुलाई ४ मा दूतावास जाँदा नमस्ते नेपालका सरोज पुडासैनीले एकदुइदिन भित्रै सबैको बाँकी तलव दिएर समस्या समाधान गरिदिने भनेपनि आजसम्म समस्या ज्यूँकात्यूँ रहेको छ। कोहीले बाँकी तलव पाएपनि कतिले आफनो तलव नपाएको गुनासो पीडीतहरुको रहेको छ।

पीडीतहरुका अनुसार आजभोलि भन्दै सरोज पुडासैनीले तलव बाडिइदैछ टाइसिर अफिसमा जानु भन्दै ढाँटेर आफूहरुलाई झुलाएको, दूतावासलाई समेत त्यही जानकारी दिदै झुठो बोलेको र दूतावासबाट उनीहरुका बाँकी तलव दिन बारम्बार अनुरोध गर्दा पनि आलटाल गरिरहेको जनाएकाछन्।

आफ्नो बाँकी तलव भराई पाउन दूतावास गएका मध्येका कामदारहरु काठमाडौं कपनका बलराम शाक्यले तीन महिनाको तलव पाएका छैनन् त्यसैगरी नेपालगंजका प्रेम लामाले दुइ महिनाको, सल्यानका सन्तोष कुमार रानाले अढाई महिनाको, भोजपुरका पासाङ्ग गुम्बा शेर्पाले अर्ढाई महिनाको, सुर्खेतका रमेश विकले दुइ महिनाको, बर्दियाका मोहनलाल पाण्डेले दुइ महिनाको, सिन्धुलीका दिनानाथ देवकोटाले दुइ महिनाको तलव पाएका छैनन्।

यसवारेमा नमस्ते नेपालका व्यवस्थापक सरोज पुडासैनीसंग यथार्थ बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन।

पीडीत कामदारहरु नयाँ एअरपोर्टदेखि दूतावाससम्म पैदल हिडेर आफ्नो तलव भराई पाउन गत जुलाईदेखि नै दूतावाससंग सहयोग मागेपनि दूतावासले शुरुमा आफ्नो समस्या त्यति गम्भीरतापूर्वक नलिईदिएको गुनासो गर्दै कामदारहरुले दूतावासले सकारात्मकरुपमा पहल गरिदिए आफ्नो बाकी तलव पाइने आशा गरेकाछन्।

तलवमा ढिलाई हुने कारणमा भागेर काम गर्ने कतिपय नेपाली कामदारहरुलाई टाइसिर कम्पनीमा रोजगारीको लागि नमस्ते नेपालले सप्लाईमा पठाएको र ६० दिनको करार सम्झौतामा टाइसिर कम्पनीले कामदारहरुलाई काममा राख्ने गरेको पाइएको छ। उक्त अवधिमा टाइसिर कम्पनी स्वयंले पनि तलव भुक्तानी दिन ढिलाई गर्ने गरेको छ भने उक्त अवधिभित्रमा सप्लाईमा काम गरिरहेकाहरुलाई विस्थापन गर्दै आफैले कामदार झिकाएर काममा राख्ने गरेकोले पनि तलव भुक्तानी समयमा उपलब्ध हुन नसकेको हुनसक्ने पनि स्रोतले जनाएको छ।

नेपाली जनप्रगतिशील मंचका अध्यक्ष रमेश भट्टका अनुसार पीडितहरुलाई तलव दिलाई दिन दूतावासमा धाइरहेका स्वयं पीडितहरुको उपस्थितिमा दूतावासलाई अनुरोध गरेको र पीडितहरुको तलव तुरुन्तै दिएर समस्या समाधान गरिदिन सरोज पुडासैनीलाई दूतावासले सम्पर्क गरेको छ तर पीडितहरुले अहिलेसम्म तलव पाएका छैनन्।

यसैगरी, स्रोतका अनुसार एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ एनसीसी वैदेशिक रोजगार विभागका विनोद भट्टराई, दिपक भेटवाल लगायतका प्रतिनिधीहरु पनि दूतावास गएर पीडितहरुको समस्या समाधान गर्न अनुरोध गरेकाछन् भने दूतावासले समस्या समाधानार्थ आइतवारसम्म पर्खर्ने बताएकाछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by