एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १४ फागुण । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति शमसेर राणाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफै पदबाट राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले प्रधानमन्त्री भट्टराई पूर्णरुपमा असफल सावित भईसकेकोले उहाँको औचित्य समाप्त भएको भन्दै राजिनामा दिएर मुलुकलाई निकास दिन सुझाव दिए।
साक्षात्कारमा उनले भने-औचित्य सकिएको प्रधानमन्त्रीले आफै राजिनामा दिए उपयुक्त हुन्छ। उहाँले आफै राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउनु पर्छ। अविश्वासको प्रस्ताव ल्याउने विषयमा काग्रेस र एमालेसँग पनि कुरा भईरहेको छ।
अहिलेको सुशासन, सुरक्षा, मितब्ययिता सबै दृष्टिकोणले असफल भईसकेको दावी गर्दै प्रधानमन्त्री प्रति अपेक्षा गरिसकेका नेपाली जनतासमेत निरास भईसकेको बताए। उनले भने-ग्याँस पनि पाईदैन, पेट्रोल पनि पाईदैन, पानी पनि पाईदैन, विजुली पनि पाईदैन। सरकार पूर्ण असफल भईसक्यो। हिसिला जीको भाषामा भन्ने हो भने यो सरकार छपाया मरु हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी बिचको एकता ७० प्रतिशत पुरा भएको जानकारी दिदै आगामी बैशाख मसान्तसम्म पार्टी एकताको प्रक्रिया पुरा हुने विश्वास अध्यक्ष राणाले ब्यक्त गरे। उनले थपे- ७० निर्वाचन क्षेत्र र ८ जिल्लामा एकताको प्रक्रिया पुरा भईसकेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस