एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ साउन । त्रिमूर्ति निकेतनले प्रा.हेमचन्द्र नेपाल, अनुप बराल र गोपाल पराजुलीलाई यस वर्षको लेखनाथ, सम र देवकोटा पुरस्कार प्रदान गर्ने भएको छ।
निकेटनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत प्रा. हेमचन्द्र नेपाललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने छ।
त्यसैगरी, नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत अनुप बराललाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ।
साथै नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत गोपाल पराजुलीलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।
ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौंमा प्रदान गरिने छन्।
त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न निकेतनको बैठकले सो निर्णय गरेको हो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस