Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेतीबाढी पीडितलाई राहत वितरण

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, माछापुच्छ्रे गाविस वडा नं. ९ सानो खोवाङ्गमा सेती बाढीपीडितका लागि सञ्चालित पुनर्वास कार्यक्रम अर्न्तगत एक कार्यक्रमबीच रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषबाट एघार परिवारलाई जनही पचास हजार रुपैयाँका दरले वितरण गरिएको छ।

पुनर्वास कार्यक्रम अर्न्तगत आठौं चरणको राहत मेङ लामा, नन्दी मगर, यमबहादुर पुन, कुमारी तामाङ, छेन लामा तामाङ, कैले तामाङ, मनबहादुर पुन, केयरसिंह पुन, केशव मगर, माने तामाङ र कर्णबहादुर पुनलाई जिल्ला दैवी प्रकोप कार्यदलका सदस्य लोकनाथ आचार्य, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद वाँस्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्री विनोद प्रतिक, रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयता पालिखे, युवा समाजसेवी सरिता गुरुङ, अर्न्तराष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङ, फोटो पत्रकार सुदर्शन रञ्जित, अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाका पश्चिमाञ्चल व्युरो प्रमुख भरत कोइराला, नागरिक दैनिक पत्रिकाका पश्चिमाञ्चल प्रमुख मनोज अधिकारी, रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे र अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले दोश्रो किस्ताका रुपमा उक्त राहत रकम प्रदान गरेका हुन्। पुनर्वास राहत रकम ग्रहण गर्दै बाढीपीडित कैले तामाङले प्राप्त राहतबाट घर निर्माणमा सहज हुने बताए।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद वास्तोलाले दुखमा साथ दिने भन्दा दिलाउने महान हुन्छ भन्दै रेडियो अन्नपूर्णको अभियानको सह्राना गर्दै प्राप्त राहत सदुपयोग गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकले हरेक पीडामा रेडियो अन्नपूर्णले पीडितको राहतमा मलमपट्टी लगाएको भन्दै राहत जे कामका लागि उपब्ध गराएको त्यसैका लागि प्रयोग गर्न सुझाव दिए।

रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले अहिले बाढीबाट सवैभन्दा कास्की पीडीत भए पनि कास्कीको सम्वन्धित निकायमा पहुँच नपुगेका कारण राज्यको उचित राहत पाउन नसकेको गुनासो गरे।

कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेकी रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखेले स्वदेश तथा विदेशमा रहेको नेपालीहरुले बाढी पीडितको दुखमा माया मिसाएको राहत पीडितलाई सदुपयोग गर्न आग्रह गरिन्।

सेती बाढीपीडितलाई अमेरिकाबाट पौने तीनलाख राहत
कार्यक्रममा पोखरा घर भई अमेरिकाको न्युओर्कमा वसोवास गर्दै आएका चन्द्रमान गुरुङ, धनबहदुर गुरुङ, टीकाराज गुरुङ, दिपेश गुरुङ र गोर्खा घर भएका शान्ता गुरुङको पहलमा न्युजर्सी पेन्सिलभानियामा बसोवास गर्ने नेपालीहरुबाट संकलित २ लाख ७६ हजार ६ सय ३४ रुपैया फेसवुक प्रयोगकर्ता, युवा समाजसेवी सरीता गुरुङले रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखेलाई हस्तान्तरण गरिन्।

बाढीपीडितलाई इजरायलबाट सहयोग
रोजगारीका सिलसिलामा इजरायलमा रहेका नेपालीहरुको सामाजिक संस्था, हेल्पिङ्ग ह्याण्डस् इन इजरायलले सेती बाढी पीडित सहयोगार्थ १ लाख ६४ हजार ६ सय ७० रुपैंया सहयोग गरेको छ। पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेर दुःख पीडामा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्ने क्रममा संस्थाले गत वैशाख २३ गते आएको सेतीबाढीबाट पीडित परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले कृष्ण निरौला, कुमार पौडेल लगायतका युवाहरुको सक्रियतामा इजरायलमा च्यारिट शो तथा व्यक्तिगत एवं संस्थागत सहयोग रकम संकलन गरिएको हो।

रेडियो अन्नपूर्णको फेसबुक पेजमार्फत प्राप्त सहयोग रकम रेडियोमा आयोजित एक कार्यक्रमका बीच फेसबुक एडमिन समेत रहेका सहकर्मी रञ्जन अधिकारीले रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेलाई हस्तान्तरण गरे।

रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले आजसम्ममा अन्नपूर्णमा राहतकोषमा ६३ लाख, ९५ हजार ९९५ रुपैया संकलन भएको र ३२ लाख ५ हजार राहत वितरण गरिसकिएको जानकारी दिए।

भलिवलको पुरस्कार सेती बाढीपिडितलाई
रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषमा विदेशमा रहनुभएका खेलकूदकर्मीले समेत सहयोग गरेका छन्। फ्रान्स तमु समाजले भलिवल प्रतियोगितामा प्राप्त पुरस्कार र सहयोगीहरुबाट संकलित सहयोग रकम ८८ हजार २४० रुपैया राहत रकम अर्न्तराष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङले रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखेलाई हस्तान्तरण गरिन्।

फ्रान्समा आयोजित भलिवल प्रतियोगितामा विजय भएबापत प्राप्त पुरस्कार ६११ युरो, लक्ष्मण गुरुङ ५० युरो, मोहन गुरुङ ५० युरो, राजकुमार गुरुङ २० युरो, तुलाराम गुरुङ २० युरो, हेमा गुरुङ २० युरो, गंगा राम गुरुङ २० युरो, भिम थापा मगर १० युरो, दामु थापा २०, सुशीला मगर १५ र ज्ञान लिम्वु २० युरो सहयोग प्रदान गरेको मञ्जु गुरुङले जानकारी दिइन्।

तस्विरहरूः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by