एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २२ साउन । एलपी ग्यासँमा उद्योगीले आफूहरुले पाउने कमिसनमा बृद्धि लगायतका १६ बुँदे माग अगाडि सार्दै आगामी साउन ३१ गतेदेखि खाना पकाउने एलपी ग्यासँको विक्री वितरण ठप्प पार्ने सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा एलपी ग्याँस उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरले सोमबार सम्मको आफूहरुको अल्टिमेटलाई आयल निगम र सरकारले बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य भएको बताए।
संघले साउन २३ गतेदेखि पिडिओ खरिद नगर्ने, २४ गतेदेख भारतबाट ग्यासँ लोड नगर्ने, २५ गतेबाट भन्सारबाट ग्याँस नछुटाउने र ३१ गतेदेखि माग पुरा नभएसम्म विक्री वितरण ठप्प पार्ने गरी आन्दोलन गर्ने गरी निर्णय गरेको उनले जानकारी दिए।
आफूहरुको माग पुरा गराउन संघले सम्बन्धित निकायसँग छलफल गर्न शिवप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय बार्ता टोली समेत गठन गरेको जानकारी दिईएको थियो। जसमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, सावरमल अग्रवाल, डा मणिकरत्न तुलाधर, राजेन्द्र डल्लाकोटी र धर्मराज बर्तौला सदस्य रहेका छन्।
उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल बृद्धि गर्नु पर्ने, उपभोक्ता र ब्यवसायीका लागि भनि सरकारले ब्यवस्था गरेको दुइ थरीका सिलिण्डर प्रचलनमा ल्याउने पर्ने निर्णय अब्यवहारिक भएकोले तत्काल खारेज गर्नु पर्ने, नयाँ ग्याँस उद्योग स्थापना गर्दा संघको स्वीकृति लिनु पर्ने, संघको सिफारिसमा ग्याँसको कोटा निर्धारण गर्नु पर्ने र सरकारी निकायस सहितका विभिन्न क्षेत्रलाई ग्याँस उद्योग स्थापना गर्ने योजना तत्काल खारेज गर्नु पर्ने सहितका १६ बुँदे माग सार्दै संघ आन्दोलनमा उत्रीएको महासचिव कुश प्रसाद मल्लीले जानकारी दिए।
उनले दुइ थरी सिलिण्डरको ब्यवस्था हुँदा झनै ठूलो बिकृति बढ्ने भन्दै यसले बजारमा ग्याँसको कृतिम अभाव सृजना गर्ने तत्वलाई मात्रै फाईदा पुर्याउने र भदौदेखि दुइ थरी सिलिण्डर लागु गर्ने भनिए पनि आफूहरुसँग यस विषयमा के गर्ने भन्ने विषयमा निगमले कुनै छलफल र सम्झौता नगरेकोले अन्यौलता रहेको बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस