एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, साउन २२ । नेकपा माओवादी क्रान्तिकारी, नेकपा राष्ट्रवादी र नेपाल जन श्रमिक पार्टी एकीकरण गरी नेकपा माओवादी (क्रान्तिकारी) नामक नयाँ पार्टी गठन भएको छ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सामन्ती राज्यसत्ताको अन्त्य गरी र्सवहारा वर्गको अधिनायकत्व हुने जनवादी सरकार स्थापनाको लागि जनयूद्ध थाल्ने तयारी स्वरुप तीन वटा क्रान्तिकारी पार्टी मिलेर नयाँ पार्टी गठन गरेको जानकारी दिइएको छ।
नयाँ पार्टी गठनसँगै आगामी मंसीर १५देखि २१ गतेसम्म पार्टीको एकता महाधिवेश गर्ने घोषणा समेत पत्रकार सम्मेलनमार्फत जानकारी गरेको छ।
पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष जनपथले राज्य सत्ता बन्दूकको नालबाट मात्र प्राप्त हुने स्पष्ट पार्दै सामन्तहरुको राज्यसत्तालाई पूर्णरुपमा ध्वस्तपारी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न पार्टीको राजनीतिक लक्ष्य रहेको बताए। उनले सर्वहारा तथा कम्युनिष्टको झण्डा ओढेर विश्वको कम्युनिष्ट आन्दोलनलाई संसदवादी राजनीतिक गराउने प्रचण्ड, बाबुराम, मोहन वैद्य र मातृकाहरु असफल भएको आरोप समेत लगाए।
पत्रकार सम्मेलनमा संयुक्त क्रान्तिकारी मोर्चा नेपालका अध्यक्ष भुपेन्द्र न्यौपानेले पुष्पलालदेखि पुष्पकमलसम्मका नेताहरु कम्युनिष्ट आन्दोलनमा जडसुत्रवाद र आत्मसमपर्णवाद भएको आरोप लगाउँदै उनले नेपाली जनताको मुक्तिको सम्बाहकको रुपमा नयाँ पार्टीको निर्माण भएको दावी गरे। उनले सामन्ती राज्य सत्ताको अन्त्य गरी सर्वहारा वर्गको उन्मुक्तिका लागि समस्त क्रान्तिकारी जनगण, राष्ट्रवादी वामपन्थी, बुद्धिजीवी, पत्रकार, उद्योगपतिहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस