एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० साउन । मृगौला रोगबाट ग्रस्त भएर पनि आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका रोगीहरु आगामी विहीबारदेखि आमरण अनसनमा बस्ने भएका छन्।
मृगौला रोगबाट ग्रस्त विरामीको निशुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पूर्ण खर्च निशुल्क गराउन सरकारलाई दवाव दिने उद्धेश्यले उनीहरु आमरण अनसनमा बस्ने भएका हुन्।
नेपाल किड्नी समाजले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारलाई बारम्बर आफ्नो मागको विषयमा ध्यानआर्कषित गराउँदै आए पनि सरकार कानमा तेल हालेर सुतेकोले मृत्युको मुखमा पुगेका आफूहरु बाध्य भएर आमरण अनसनमा बस्न बाध्य भएको बाध्यता सुनाए।
समाजले आर्थिक उपचारकोलागी एकमुष्ट आर्थिक सहयोग गर्नु पर्ने, स्वेच्छाले अंगदान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएकाहरुको मृगौला निकाली प्रत्यरोप गर्ने ब्यवस्था गरिनु पर्ने, प्रत्येक जिल्लामा कम्तिमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नु पर्ने, डायलायसिस सेवा २४ घण्टा नै सञ्चालन गर्नु पर्ने, बन्द हडतालको बेलामा मृगौला रोगीलाई अस्पताल लान लैजान छुट्टै सवारी साधनको ब्यवस्था गरिनु पर्ने लगायतका माग गरेको छ।
त्यसैगरी, मृगौला प्रत्यारोपणको तयारीमा रहेका विरामीलाई एकमुष्ट १० लाख रुपैया उपलब्ध गराउनु पर्ने, औषधी र उपचारको लागि एक मुष्ट २ लाख रुपैया वा निशुल्क सेवाको ब्यवस्था गर्नु पर्ने, डायलासिस वा प्रत्यारोपण गरिसकेका विरामीको उपचारमा आवश्यक औजार र औषधीमा लाग्ने सम्पपूर्ण कर मिनाहा गरिनु पर्ने, रगत परिक्षण र रक्त तत्वमा लाग्ने शुल्कमा पुरै अनुदान दिनु पर्न र मृगौला रोग पीडितलाई हवाई जहाज र सवारी साधनमा पुरै भाडा मिनाहा गर्नु पर्ने माग पनि समाजले अगाडि सारेका छ।
राष्ट्रिय मृगौला रोगी पीडित संघका अध्यक्ष चिन्तामणी पोख्रेलले आफूहरु रोगको उपचार गराउन नसकेर त्यसै पनि मृत्यु सैंयामा पुगेको अवस्थामा मृगौला रोगीको समस्या राज्यको आँखामा पार्न आफूहरु आमरण अनसनमा बस्ने निर्णयमा पुगेको बताए। मृगौला पीडित पत्रकार रमेश चालिसेले न्यून आर्थिक आम्दामी गरेर मुस्किलले जीवन गुजारेका नेपाली जनताको लागि मृगौलाको रोग भालुको कन्पट जस्तो बनेको भन्दै जनताको सुरक्षा, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्नु पर्नेमा विरामी आमरण अनसनमा बस्नु जनपक्षीय भनेर दावी गर्ने सरकारको मुखमा झापड भएको आरोप लगाए।
पत्रकार सम्मेलनमा समाजका सहसचिव गौरब गुरुङ, रमिला दाहाल, हेमराज श्रेष्ठ लगायतका रोगीहरुले पनि आफ्नो पीडा सुनाएका थिए।
पत्रकार सम्मेलनमा हाल नेपालमा २७ लाख नेपालीहरु मृगौला रोगबाट पीडीत भए पनि मृगौला रोगको उपचार सर्वसुलभ नभएको र उपचार पाए पनि असाध्यै महंगो भएकोले रोगीहरु बाच्दै नबाँच्ने र बाँचिहाले पनि धोति न टोपी भएर बाच्नु पर्ने अवस्था रहेको जानकारी दिईएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस