एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १८ साउन । नेपाली काग्रेसका जिल्ला सभापतिहरुले आगामी सहमतिको सरकारको नेतृत्व केन्द्रीय सभापति सुशील कोइरालालाई गर्न सुझाव दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार अयोजना गरेको साक्षात्कारमा काठमाडौ सभापति भिमसेन दास प्रधानले संसद समेत नरहेको अवस्थामा काग्रेस सभापतिय प्रणालीमा चलेको पार्टी भएकोले र्सवसम्मतको प्रधानमन्त्री उमेदवार सभापति कोइराला भएको बताए।
साक्षात्कारमा उनले भने -सहमतिको सरकारको नेतृत्व गर्ने सर्वोत्कृष्ट ब्यक्ति सभापति सुशिल कोइराला हो। सभापतिले म प्रधानमन्त्री बन्छु भनेर इच्छा ब्यक्त गरेपछि कसैले पनि दावी गर्न मिल्दैन। यद्यपि उनले सभापति कोइरालाले अहिलेसम्म प्रधानमन्त्री बन्ने इच्छा भने ब्यक्त गरि नसकेको स्पष्ट पारे।
गुल्मी सभापति चन्द्र केसीले सभापति सुशील कोइरालले चाहेकै ब्यक्ति भावी सहमतिको सरकारको प्रधानमन्त्री बन्ने निश्चित भएको भन्दै आगामी १० दिनभित्रमा काग्रेसले प्रधानमन्त्रीको उमेदवार तय गरी सार्वजनिक गर्ने दावी गरे। माओवादीको छलछाम र ढाटको राजनीतिका कारण काग्रेस विश्वसस्त हुन नसक्दा प्रधानमन्त्रीको उमेदवार सार्वजनिक नगरेको दावी गर्दै काग्रेसभित्र को प्रधानमन्त्री बन्ने विषय प्रष्ट भईसकेको बताए। उनले अहिले लोकतान्त्रिक गठबन्धनको आवश्यक रहेको भन्दै त्यसको नेतृत्व काग्रेसले लिएर जिद्दी गरेर बसिरहे सरकारलाई ढाल्न भिषण आन्दोलनको लागि तयार रहनु पर्ने बताए।
दोलखा सभापति ताराबहादुर कोइरालाले सभापति कोइरालाले सभापति कोइराला नै प्रधानमन्त्रीको सबैभन्दा सर्वोत्कृष्ट उमेदवार भएको भन्दै सभापतिले इच्छा नगरे मात्रै रामचन्द्र पौडेल र शेरबहादुर देउवा मध्येबाट एक जना प्रधानमन्त्रीको उमदेवार बन्ने स्पष्ट पारे। पार्टीभित्र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुनै विवाद नभएको भन्दै काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने निश्चित भए तुरुन्तै घोषणा हुने दावी गरे। उनले काग्रेसको लागि सत्ता भन्दा पनि सर्वसत्ताबादतर्फ उन्मुख सरकारलाई सत्ताच्यूत गर्नु महत्वपूर्ण भएको भन्दै आन्दोलनबाट सरकारलाई सत्ताच्यूत गर्नु पर्ने धारणा राखे। उनले सभापतिले गठन गरेको विभाग उहाँको बैद्यानिक अधिकार अनुसार नै गरेको भन्दै त्यसमा विवाद गर्नुको तुक नभएको बताए।
नुवाकोट सभापति जगदिश्वर नरसिह केसीले पार्टी कसैको अंश बण्डाको विषय नभएको भन्दै सभापतिले गरेको निर्णयलाई सबैले मान्नु पर्ने बताए। उनले सभापतिले गरेको विभाग गठन विधानसम्मत भएको भन्दै त्यसमा चित्त नबुझ्नेले पद छाड्दा कुनै असर नपर्ने बताए। काग्रेसले दलहरुवीच सहमति हुनासाथ तत्काल प्रधानमन्त्रीको उमेदवार काग्रेसले घोषणा गर्ने स्पष्ट पारे। प्रचण्डलाई माओवादीले भित्ते राष्ट्रपति घोषणा गरेर गरे जस्तो काग्रेस आफ्ना नेताहरुलाई भित्ते प्रधानमन्त्री नबनाउने भन्दै भने- काग्रेसमा विवाद छैन। संसदीय दल नभएको अवस्थामा सभापतिय पद्धतिमा चलेको पार्टीले त्यसै अनुसार निर्णय गर्छ।
उनले सभापतिको भेलाले संसदीय ब्यवस्था र थोरै प्रदेश हुने गरी बहुजातीय पहिचानको आधारमा संघीयतामा जाने स्पष्ट आधार समेत पार्टीलाई दिएकोले अब मुलुकले निकास पाउने बताए।
सप्तरी सभापति दिनेशकुमार यादवले काग्रेसमा सामूहिक नेतृत्व गर्ने पद्धति अनुसार त्रय नेताले नेतृत्व लिएकोले तीनै मध्येबाट भावी प्रधानमन्त्री सहमतिमै बन्ने विश्वास ब्यक्त गरे । उनले काग्रेसलाई मधेसले सिन्चीत गरेर हुकाएको भन्दै मधेसलाई विर्सिएर काग्रेस अघि बढ्न नसक्ने बताए। उनले भने-काग्रेसलाई मधेसमा समस्या छैन। काग्रेसको संगठन सबैभन्दा राम्रो अहिले पनि छ।
रामेछाप सभापति रामचन्द्र खड्काले नेतृत्वले आफूहरुलाई भावी प्रधानमत्रीको भन्ने विषयमा त्रय नेताहरुवीच सहमति भईसकेको र उपयुक्त समयमा घोषण हुने भनि आश्वास्त पारेकोले काग्रेसलाई आंशका नगर्न आग्रह गरे। उनले काग्रेसले अब जनजाती र मधेसीलाई मिलाउन समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता औल्याउँदै विगतमा भएको पाँच बुँदे सहमतिको आधारमा मुलुकलाई अगाडि बढाउनु पर्ने बताए। उनले भने-पाँच बुँदे अनुसार नचले मुलुक द्धन्द्धमा जान्छ।
काभ्रे सभापति शिव प्रसाद हुमागाईले नेतृत्वले आदेश दिए २४ घण्टा भित्रमा मुलुक ढप्प पार्दै प्रधानमन्त्रीलाई पदच्यूत गर्ने दावी गर्दै सहमतिको सरकारको नेतृत्व सहमतिमै काग्रेसले समयमा घोषणा गर्ने बताए। उनले १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती शासन, राजतन्त्रको अन्त्य र माओवादीलाई शान्ति प्रक्रियाको धारमा ल्याउने विषयको नेतृत्व लिएको काग्रेसलाई अहिलेको सरकार ढाल्न ठूलो कुरा नभएको दावी गरे। उनले बर्तमान सरकार विदेशीको इसारमा चलेको सरकार भन्दै प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्न काग्रेसले राष्ट्रपति, वार्ता र आन्दोलन तीनै मोर्चालाई अगाडि बढाउने बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस