एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरुवीच सहमति बन्न नसके पनि सरकारले अगामी चैत्रमा गर्ने गरी संविधानसभाको अर्को निर्वाचनको मिति तोक्ने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले दलहरुवीच सहमति नभएसम्म निर्वाचन हुन नसक्ने भए पनि सरकारले नियमित प्रक्रिया अर्न्तगत आगामी चैत्र र त्यसमा पनि हुन नसके फेरि मंसिरमा निर्वाचनको घोषणा गर्ने तयारी गरिरहेको बताए। त्यसको लागि सत्तारुढ गठबन्धन दलहरुवीच सहमतिसमेत भईसकेको उनले खुलासा गरे।
साक्षात्कारमा उनले भने-दलहरुवीच सहमति बनेपछि अर्को संविधानसभाको निर्वाचन हुन्छ। यो मंसिर ७ मा नभए आगामी चैत ७ मा हुन्छ त्यसमा पनि नभए अर्को मंसिर ७ मा हुन्छ। सरकारले निर्वाचनको मिति घोषणा गरिरहन्छ।
मन्त्री रायमाझीले संविधानका विवादित विषय र के को निर्वाचन गर्ने भन्ने विषयमा सहमति नगरेसम्म माओवादीले सरकार नछाड्ने स्पष्ट पार्दै विना निकास र सहमति सरकार छाडेर नभाग्ने बताए। उनले भने-पहिला एजेण्डामा सहमति गरौ त्यसपछि सरकारको नेतृत्वको विषयमा सहमति गरौ। निकासको एजेण्डामा सहमति नभई सरकार छाड्दैनौ।
उनले विपक्षी दलहरुले प्रधानमन्त्रीको राजिनामा मागेको विषय समेत संविधानसम्मत नभएको दावी गर्दै राजिनामाको कुरा गरेर विपक्षी दलहरुले पुरानै ब्यवस्था फर्काउने षडयन्त्र गरेको आशंका ब्यक्त गरे। संविधानसभा विघटन गराउने र राष्ट्रपतिलाई राजा बनाउने काग्रेसको सोचलाई परास्त गर्न सरकारले निर्वाचनको घोषणा गरेको दावी गर्दै निर्वाचनको विकल्प नभएको स्पष्ट पारे।
जनयूद्धको दौरान सहयोगका लागि माओवादीले भारतसहित विभिन्न देशलाई आग्रह सहितको पत्र पठाएको भए पनि एसडी मुनीको नामबाट आए जस्तो भारतका स्वार्थलाई सम्बोधन गर्न तयार रहेको भन्ने कुरा सहित नभएको मन्त्री रायमाझीले तर्क गरे। उनले भने-हामी कसैसँग दुस्मनी गर्न चाहदैनौ। हामी भारत विरोधी पनि होईनौ तर बाहिर आए जस्तो कुनै लिखित पत्र माओवादीले भारतलाई लेखेको छैन। तर पनि यो मुद्दाको विषयमा समिक्षा हुनै पर्छ, के भएको भन्ने विषयमा।
उनले बाहिर आए जस्तो नेपालका एयरपोर्टहरुको ब्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई सरकारले दिन लागेका भन्दै कुराको पनि खण्डन गर्दै त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारे।
