एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ श्रावण। ‘यो रेडियो नेपाल हो, अब प्रवीण गिरीबाट समाचार सुन्नुहोस्…’ फरक शैली र ओजस्वी आवाजका धनी चिरपरिचित समाचारवाचक तथा सञ्चारकर्मी प्रवीण गिरीको आइतवार विहान निधन भएको छ।
नेपाल टेलिभिजन र रेडियो नेपालबाट समाचार वाचकका रुपमा छुट्टै पहिचान बनाएका गिरीको बिहान साढे सात बजे ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
क्यान्सरबाट पीडित ६१ वर्षीय गिरीलाई दुई हप्ताअघि अस्पताल भर्ना गरिएको थियो।
नेपाल टेलिभिजन र रेडियो नेपालबाट अवकाश पाएपछि पछिल्लो समय उनी निजी च्यानल एभिन्युज टेलिभिजन र त्यसपछि हिमालय टेलिभिजनमा समाचार सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए।
उनी झण्डै ३ दशकसम्म राजधानीको मिनभवन क्याम्पसमा अर्थशास्त्रका सहप्राध्यापक थिए।
काम विशेषले विदेशमा गएका छोरा अस्ट्रेलियाबाट फर्केपछि गिरीको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस