एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ साउन । बाबा रामदेवद्वारा संरक्षित पतञ्जली योगपिठ नेपालले भारतीय सरकारको हेपाहा प्रबृत्तिविरुद्ध एक जुट हुन आब्हान गरेको छ।
पीठले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भारतीय परम्परा र सँस्कृतिलाई विश्वभरी फैलाउने नेपाली मूलका भारतीय नागरिक आचार्य बालकृष्णलाई भारतको केन्द्रीय जाँच ब्यूरो सीवीआईले नक्कली प्रमाण तयार पारी पासपोर्ट बनाएको आरोप लगाएर गिरफ्तार गर्नु सम्पूर्ण नेपाली माथिको भारतीय हेपाहा प्रवृत्ति भएको भन्दै त्यसको विरुद्ध एक जुट हुन आव्हान गरेको हो।
आयुर्वेदका शिरोमणी आचार्य बालकृष्णलाई नेपाली मूलका भारतीय नागरिक भएकै कारण विना प्रमाण जेल हाल्न खोजेको अरोप लगाउँदै उनीहरुले यसले भारतमा गई काम गर्ने लाखौ साधारण नेपालीमाथि भारतले कस्तो तुच्छ ब्यवहार गर्छ भन्ने प्रष्ट भएको आरोप लगाए।
संस्थाले भरतमा बसेका आम नेपालीहरुको जीवन सुरक्षाको लागि पनि भारतीय केन्द्रीय सरकारको निन्दनीय कार्यका विरुद्ध जागरुक हुन सम्पूर्ण नेपालीहरुलाई आव्हान पनि गर्यो।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ- भगवान श्रीराम, गौतम बुद्ध, माता सीताका समयदेखि रहेको नेपाल भारतको साँस्कृतिक सुमधुर सम्बन्ध र सद्भावपूर्ण भाइचारालाई तोड्न भारत सरकारले षढयन्त्र गरेको भन्दै विश्वमा छरिएर रहेका नेपालीहरुले आयुर्वेद शिरोमणी आचार्य बालकृष्णमाथि गरिएको बद्नियतपूर्ण तरिकाले गरेको षढ्यन्त्रप्रति खरोरुपमा प्रतिवाद गर्न आव्हान गर्दछौं।
पत्रकार सम्मेलनमा बोल्दै पतंजली योगपीठका ट्रष्ट्री शालिग्राम सिंहले नेपाली मूलका भारतीय नागरिक आचार्य बालकृष्णको विश्व परिचित नामलाई दास प्रवृद्धिको भारत सरकारले षढ्यन्त्रपूर्वक वेनाम गर्न लागि परेको आरोप लगाए। उनले भने- भारतबाट प्रकाशित हुने इण्डिया टुडे र आउट लुकमा भारतीय युवाहरुमा टपटेनमा राहुल गान्धीपछि बालकृष्णको नाम प्रकाशित भएदेखि नै विस्तारवादी सोचको भारतले नेपाली मूलका भारतीय नागरिक भएकै कारण बालकृष्णलाई षढ्यन्त्रपूर्वक जेल चलान गरेको छ, उनलाई नछोडे हामी सम्पूर्ण धार्मिक संगठनहरु मिली आमरण अनशनको कार्यक्रम ल्याउने छौं।
केन्द्रीय प्रभारी लवदेवले नेपालीहरुलाई दासको नजरले हेर्ने भारतीय हेपाहा प्रवृद्धिको कडा विरोधमा उत्रने चेतावनी दिँदै भने- भारतीय राजदूतलाई आचार्य बालकृष्णको विषयमा ज्ञापन पत्र बुझाउँन जाँदा साधारण कर्मचारीले ज्ञापन पत्र बुझ्न पठाईयो, यसले पनि नेपाली भूमि र नेपाली जनतामाथिको हेपाहा प्रवृद्धि प्रष्ट हुन्छ।
पत्रकार सम्मेलनमा महिला केन्द्रीय प्रभारी हेमा ढुंगानाले नेपाली मुलका भारतीय नागरिक आचार्य बालकृष्णलाई गरिएको षढ्यन्त्र बालकृष्णलाई मात्र नभई सम्पूर्ण नेपालीलाई समेत थ्रेड भएको आरोप लगाईन्।
उनले भनिन्- भारतमा बसी क्षमता प्रदर्शन गर्ने मनिषा कोईराला, उदितनारायण झा, कुमार कान्छा जस्ता हस्तिहरुलाई भारतले अंकुश लगायो र अझै लगाईरहेको छ, टपटेनमा परेका बालकृष्ण आगामी दिनमा भारतको मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको क्यानिडेड हुन्छ भनेर बेलैमा अंकुश लगाएको हो।
फाइल फोटोः अनलाइन पत्रिकाहरू