एचकेनेपाल डट कम संवाददाता-
अर्घाखाँची, ७ साउन। बुटवलबाट अर्घाखाँचीको सन्धिखर्कतर्फ जाँदै गरेको यात्रुवाहक गाडी आइतबार साँझ दुर्घटना हुंदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार १५ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा सन्धीखर्कस्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो।
ना२ख ७९४८ नम्बरको फोर्स गाडी अर्घाखाँचीको नरपानीस्थित दहखोलामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ३ जनाको उपचार भइरहेको छ।
मृत्यु हुनेहरूमा चालक राजेन्द्र चौधरी, बाँकेका गाडी धनी नारायण पन्थी, अर्घाखाँची बंगलाकी सीता बस्नेत, केरुङ्गाका हेमराज खनाल र कपिलवस्तुका कृष्ण चौधरी रहेका छन्। सुरूमा एक जना यात्रुमात्र सो गाडीमा रहेको र बीच बाटोमा यात्रु थपिदै गएकोले मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन्।
त्यसैगरी, झापाको घैलाटुप्पा गाविसको लक्ष्मीपुरमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा धरम चौधरी, विरू राजवंशी, बरूवा राजबंशी र निर्मल राजवंशी छन्। घाइतेहरूको विर्तामोड अस्पतालमा उपचार भइरहेको नेपाल टेलिभिजनले जनाएको छ।
भिडियो हेर्नुहोस्
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस