एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ श्रावण। पुष्पलाल र बीपीका नीतिहरुलाई सही परिप्रेक्ष्यमा बुझेमात्र अहिलेको अन्योलपूर्ण स्थितिबाट मुक्त हुन सकिने विचार ‘वर्तमान परिस्थिति र कमरेड पुष्पलाल’ बिषयक विचार गोष्ठीका वक्ताहरुले व्यक्त गरेका छन्।
पुष्पलालको ३४औ स्मृति दिवसका उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)को आयोजनामा काठमाडौंको मिडिया इण्टरनेशनल सम्पन्न गोष्ठीमा बोल्दै उनीहरुले यस्तो विचार व्यक्त गरेका हुन्।
गोष्ठीमा बोल्दै पुष्पलालसँग लामो समयसम्म कार्यरत सहयोद्धा गोबिन्द ज्ञवालीले नेपाली राजनीतिमा बिकसित भएको गलत प्रबृत्तिको उल्लेख गर्दै हामीसँग भएका सही कुरालाई हामी गुमाउँदछौ र पुनः त्यो प्राप्त गर्न संर्घष गर्दछौं। यसैमा मुलुक अल्मलिएको छ। ज्ञवालीले भने, ठूल्ठूला पार्टी छन् तर त्यहाँ पुष्पलाल र बीपी छैनन् यो स्थितिलाई चिर्न पुष्पलाल र बिपीको दिग्दर्शनलाई आत्मसात गर्न सक्नु पर्दछ।
प्राध्यापक डा. सुरेन्द्र केसीले समस्या समाधान गर्ने र देशलाई सही दिशा दिनेभन्दा पनि समस्याको ब्यापार गर्ने जुन गलत प्रबृत्तिको शिकार देशलाई बनाउने गरियो त्यसले गर्दा पुष्पलाल र बीपीलाई किनारा धकेलिएको बताए।
कार्यक्रममा नेकपा(संयुक्त मार्क्सवादी)का अध्यक्ष लोकनारायण सुवेदीले राजनीतिलाई ब्यापार ब्यवसाय बनाएर जनता र राष्ट्रलाई बेवास्ता गरेपछि आजको स्थिति उत्पन्न भएको औल्याउदै अहिलेको सही निकास साझा नीति र कार्यक्रमका आधारमा सहकार्यको बाटो मात्र रहेको बताए। पुष्पलालको बिचारबाट सुसज्जित र ब्यवहारबाट अनुप्राणित नयाँ शक्तिको उदय नभइ नयाँ नेपाल बन्न नसक्ने पनि उनको ठोकुवा थियो।
बिघटित संविधान सभाका पूर्व सभासद गोपाल ठाकुरले पुष्पलालले अघि सारेको नीति केलाउने र आत्मसात गर्ने हो भने बर्ग, जाति, भाषा, क्षेत्र, लिङ्गका समस्यालाई सही किसिमले समाधान पहिल्याउन सकिने बताए।
नेपाली काग्रेस महासमिति सदस्य तथा कानुन ब्यवसायी आनन्द सन्तोषी राइले बीपी र पुष्पलाललाई जोडेर मिलान गरेर सोच्ने हो भने आजका समस्याको समाधान भेटाउन सकिने बताए।
पुष्पलालका सहयोगी तथा कम्युनिष्ट आन्दोलनका अभिभावक शिव भटराईले पुष्पलालको बिचार र ब्यवहारबाट नसिक्ने हो भने मुलुकले समस्याबाट पार नपाउने बताउंदै पुष्पलालको गलत तस्वीर प्रवाह गरेर भावी पिढीलाई गुमराह गरिनु नहुने बताए।
नेकपा (संयुक्त मार्क्सवादी)राष्ट्रिय परिषदका सदस्य दमन कटुवालले सञ्चाल गरेको कार्यक्रममा आमन्त्रित अतिथि र उपस्थित महानुभावहरुलाई स्वागत गर्दै पोलिटव्यूरो सदसस्य भीम वान्तवाले पुष्पलालको बाटो छोडेर कम्युनिष्ट तथा जनतान्त्रिक आन्दोलन अघि बढ्न नसक्ने बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस