सन्तोष काफ्ले / एचकेनेपाल डट कम
धरान, ७ साउन । भोजपुरको ग्रामिण पहुच कार्यक्रमको पैसा लुट्ने ६ जनाको समूहलाई पक्राउ गरी आइतवार प्रहरीले धरानमा सार्वजनिक गरेको छ।
गत असार १८ गते उपभोक्ता समितिको पदाधिकारी तथा कर्मचारीहरुको तलव ८ लाख, मोबाइल र रिचार्ज कार्ड लुट्ने लुटेरालाई धरानमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। उनीहरुलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विषेश अनुसन्धान व्युरोले शनिवार झापाको दमक र सुनसरीको पाँचकन्याबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा योजनाकार पाँचकन्या १ का २८ वर्षीय धनकुमार राई, भोजपुर हलौछा ४ का २८ वर्षीय सन्तोष भनिने गणेश तामाङ, भोजपुर हलौछा घर भई हाल पाँचकन्या १ का २६ वर्षीय नविनकुमार राई, दमक भुटानी सरणार्थी सेक्टर बी का ४८ वर्षीय पदमबहादुर मगर, सेक्टर बीकै ३३ वर्षीय वीरबहादुर विक, बी कै ४१ वर्षीय गोपाल गुरुङ रहेका छन्।
उनीहरुको साथबाट १ लाख १७ हजार नगद, २ थान खुकुरी, पाँचथान विभिन्न मोडेलका नोकिया मोबाइल साथमा ७ थान सिमकार्ड र कम्व्याट ज्याकेट १ थान बरामद गरिएको क्षेत्रीय शाखा व्युरोका विशेष डिएसपी भिमप्रसाद दाहालले बताए।
उनीहरुले विशेष सुराकीको आधारमा हिजै पाँचकन्याबाट २ जनालाई पक्राउ गरिएको थियो भने उनीहरुको वयानबाट दमक भुटानी सरणार्थीबाट ३ जना र भोजपुरबाट गणेश राईलाई पक्राउ गरिएको उनले जानकारी दिए।
रकम निकालेको सूचना प्रवाह गरी सहयोग गर्ने गणेशलाई भोजपुरबमटै पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यालय भोजपुरमा नै राखिएको उनले बताए।
उनीहरुलाई आजै आवश्यक कारबाहीको लागि भोजपुर पठाइने बताइएको छ। मुख्य योजनाकार मानिने धनकुमार दुइ वर्षअघि दमकमा हातहतियार केसमा पक्राउ परि १६ महिना जेल बसेर छुटेका थिए। उनी माओवादी छापामार समेत रहेको बताइएको छ। त्यस्तै लुटपाटमा संलग्नमध्ये भुटानी शरणार्थीका पदमबहादुर मगर भुटानी आर्मीमा भूपू जवानसमेत रहेको प्रहरीको भनाई छ।
भिडियोः सन्तोष काफ्ले/एचकेनेपाल डट कम
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस