एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ साउन । नेकपा एमाले निकट यूवा संघ नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदच्यूत गर्ने गरी भिषण आन्दोलन थाल्ने भएको छ।
शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले यूवा संघ अहिले आन्दोलनको आन्तरिक तयारीमा जुटेको जानकारी दिदै केही दिनभित्रै भिषण आन्दोलन गर्ने घोषणा गरे।
बस्नेतले आन्दोलनको तयारीको लागि संघले आगामि साउन ७ र ८ गते राजधानीमा दोस्रो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी दिदै भेलापछि यूवा संघले भिषण आन्दोलन थाल्ने बताए।
भेलामा केन्द्रीय कमिटि सदस्य, केन्द्रीय लेखा कमिटिका सदस्य, केन्द्रीय विभाग सचिव, अञ्चल कमिटि सचिव, अञ्चल महिला विभाग प्रमुख, जिल्ला कमिटिका अध्यक्षहरुको सहभागिता हुने छ।
भेलाको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। भेलाले परिवर्तित राजनीतिक परिस्थिति, पार्टीले लिएको नीति, आन्दोलन तथा यूवा संघको नयाँ कार्ययोजना निर्माण गरिने बस्नेतले जानकारी दिए।
माओवादी नेताहरु भष्मासुर प्रबृत्तिका भएको र अहिले भष्मासुरहरुको हातमा मुलुक भएकोले सबैको सजगता आवश्यक रहेको भन्दै उनले यस्तालाई पद्च्यूत गरेर मुलुकमा लोकतन्त्र सुरक्षित राख्न आन्दोलन अपरिहार्य भएको दावी गरे।
राजनीतिक सक्रमणको फाईदा उठाउन पछिल्लो समयमा अतिवादी र विखण्डन बादीहरु जुर्मुराएको उल्लेख गर्दै उनले उनीहरुलाई पनि राजालाई दरवारबाट रानीबन पुर्याएझै पाखा लगाईदिने चेतावनी पनि दिए। उनले पूर्व राजाको सेतो कोटमा दरवार हत्याकाण्डको रगतको छिटा अझै बाँकी रहेको उल्लेख गर्दै उनले चलखेल गरेर नेपाली भूमि छाड्नु पर्ने चेतावनी दिए।
एमालेबाट केही जनजाति र मधेसी नेताहरु निस्कदैमा केही फरक नपर्ने भन्दै उनीहरुलाई पार्टीले जिम्मेवारीबाट हटाउन गरेको निर्णयको स्वागत पनि गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस