रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, ४ साउन । आदिवासी जनजाति अगुवाहरूले स्वायत्तता र स्वशासनमा आधारित पहिचानसहितको सङ्घीयता ठूला दलहरूले नमाने स्वतन्त्रताको लडाइँ सुरू हुन सक्ने चेतावनी दिएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले विहीबार पोखरामा आयोजना गरेको आदिवासी जनजाति र समसामयिक राजनीतिक परिस्थिति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै आदिवासी जनजाति अगुवाहरूले त्यस्तो चेतावनी दिएका हुन्।
अन्तरक्रियामा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी थारूले आदिवासी जनजातिले अधिकार माग्दा विरोधीहरूले अनावश्यक भ्रम फैलाइरहेको बताए। जातीय जनसंख्याको आधारमा राज्यका हरेक निकायमा आदिवासी जनजातिलगायतका पिछडिएका वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व, समान पहुँच र सुनिश्चित पहिचान हुनुपर्ने भन्दै लेखीले ऐतिहासिक पहिचानका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने आफूहरूको माग रहेको बताए।
महासंघका पूर्व अध्यक्ष एवं पूर्व एमाले सभासद् पासाङ शेर्पाले नेपाली जनताका समस्या सम्बोधन गर्न प्रमुख तीन दल असफल भएकाले आदिवासी जनजातिहरूसहितको अलग्गै पार्टीको औचित्य बढेको बताए। आफूहरूले खोल्ने पार्टी कुनै समुदाय विशेषको भन्दा पनि सबैलाई समेट्ने खालको विचार बोक्ने पार्टी हुने पनि शेर्पाले बताए।
नेकपा (एमाले)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राईले संविधानसभापछि आदिवासी जनजातिहरू अलि कमजोर जस्तो देखिएपनि फेरि एकजुट भई शक्ति निर्माणमा लागेको बताए। आदिवासी जनजातिले थालेको स्वायत्तता र स्वशासनको आन्दोलनको माग सम्बोधन नभए त्यसले भौगोलिक स्वतन्त्रताको आन्दोलनको रूप लिन सक्ने राईको चेतावनी थियो। आफूहरूले राज्य कसरी चलाउनुपर्छ भन्ने जानेको भन्दै राईले बाहुनवादीहरूले बिगारेको देशलाई सपार्ने समेत दाबी गरे।
समाजशास्त्री डा. कृष्ण भट्टचनले आदिवासी जनजातिको पार्टी तत्काल खोल्नुपर्ने भन्दै जति ढिलो गर्यो उति परिस्थिति प्रतिकूल हुँदै जाने बताए।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष सोनी लामा तामाङ, आदिवासी जनजातिहरूको मानवअधिकारसम्बन्धी वकिलहरूको समूह (लाहुर्निप)का केन्द्रीय उपाध्यक्ष दिनेश घले गुरुङ, आदिवासी नेतृ विष्णुकुमारी लामा, नेपाल तामाङ घेदुङका पश्चिमाञ्चल प्रमुख कुमबहादुर तामाङ, तमुवान संर्घष समिति, कास्कीका संयोजक देवीराज गुरुङ, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरलगायतले बोलेका थिए।
कार्यक्रममा कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखाका आदिवासी जनजाति अगुवाहरू समेतको उपस्थिति थियो। सो अवसरमा आदिवासी जनजातिको पार्टी खोल्नुपर्ने विषयमा स्थानीय आदिवासी जनजाति अगुवाहरूले विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले आदिवासी जनजातिलगायत सम्पूर्ण उत्पीडित जाति, वर्ग एवं समुदायलाई समेट्ने खालको पार्टीको निर्माण आवश्यक रहेकोमा जोड दिएका थिए।
महासंघ, कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पूर्ण हृयोल्मोले गरेका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस