ऋषि बस्ताकोटी/ एचकेनेपाल डट कम-
क्यानाडा, एनआरएन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन तथा नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरीको संयुक्त सहकार्यमा विविध साहित्यिक कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको १९९ औं जन्मजयन्ती मनाइएको छ।
क्यानाडाको क्यल्गरी शहरमा कार्यक्रममा एनआरएन क्यानाडाका अध्यक्ष डा बिनोद केसी प्रमुख अतिथ्य र भाषा साहित्य विभागका सदस्य राजेन्द्रप्रसाद प्रसाईको सभापतित्व रहेको थियो। कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष डा बेतमानसिं भण्डारीले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो।
आदिकवि भानुभक्त आचार्यको तस्विरमा फूलमाला अर्पण गरी शुरु भएको कार्यक्रमको प्रथम चरणमा “जहाँ जाऊँ जहाँ रहौं, मन त नेपाली” बिषयमा खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा मुरारी अधिकारीले प्रथम, डा तीर्थराज बजगाईले द्वितीय र सीलु घिमिरेले तृतीय स्थान प्राप्त गरे।
पुरस्कृत प्रतिभाहरूलाई प्रमुख अतिथि डा बिनोद केसीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। प्रतियोगीतामा सहभागी अन्य सहभागीहरू क्रमशः भरतमान श्रेष्ठ, बिद्या बज्राचार्य,सुष्मा खनाल,अस्मिता अधिकारी, चन्द्रा मैनालीले समेत सहभागिताको प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रमको दोश्रो चरणमा अरुण श्रेष्ठ, झलेन्द्र श्रेष्ठ, ऋषि बस्ताकोटी, राजेन्द्र प्रसाई, गोविन्द उपाध्याय, देवराज गौतम, युक्तखान ठकुरी,कौसल्या थापा लगायतका कवि कवियत्रीहरूले अप्रतियोगी कविता वाचन गरेका थिए।
कार्यक्रममा डा गोबिन्दसिं रावत (टोरन्टो), मानकाजी श्रेष्ठ (भ्यानकुभर), डा नारायण पोखरेल (एडमनटन) र प्रदीप न्यौपाने (मिसिसागा)का आमन्त्रित कविताहरू पनि वाचन गरिएको थियो।
कार्यक्रममा बिभू ओझाले सुरिलो स्वरमा भानुभक्तीय रामायणको पाठ गर्नुभएको थियो भने पूर्वराजदूत प्रा हर्षनारायण धौभडेल, राजेन्द्र प्रसाई, CNCA का महासचिव पुरुस्वत्तोम श्रेष्ठलगायतले भानुभक्तको जीबनी र योगदान, प्रवासमा नेपाली भाषा साहित्यको महत्व र प्रवासीको भूमिका विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा क्यानाडाका लागि महामहिम नेपाली राजदूत डा भोजराज घिमिरेबाट प्रेषित शुभकामना एनआरएन भाषा साहित्य विभागका सहसंयोजक ऋषि बस्ताकोटीले पढेर सुनाउनुभएको थियो।
कार्यक्रमको तेस्रो चरणमा क्याल्गरी निवासी गीतकार तथा संगीतकार सुरेश थापाको तेश्रो गीति एल्वम “तपोवन-२” को प्रमुख अतिथि डा बिनोद केसीले विमोचन गर्नुभएको थियो भने अरुण श्रेष्ठले गीतकार थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा विमोचित गीति एल्वमको शीर्ष गीत समेत सुनाइएको थियो। तपोवन-२ मा थापाद्वारा रचित तथा संगीतवद्ध विविध विषय समेटिएका ७ गीतमा कर्ण दास, जगदीश समाल, सन्तोष लामा र कर्म गल्जेन बोम्जनको स्वर रहेकाछन्।
प्रवासमा भाषा साहित्य र संस्कृति नै हाम्रो मूल पहिचान भएकोले यसको प्रवर्तनका लागि छुट्टै संस्थाको आवस्यकता महसुस गरी कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको छलफलपछि क्यल्गरीबासी नेपालीमूलका साहित्यप्रेमीहरूलाई समेटेर साहित्यिक संस्था स्थापनार्थ अरुण श्रेष्ठको संयोजकत्वमा डा तिर्थ बजगाई, गोविन्द उपाध्याय, झलेन्द्र श्रेष्ठ, मुरारी अधिकारी, प्रेम देवकोटा, देवराज गौतम, सुरेश थापा र ऋषि बस्ताकोटी सहितको नौ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस