Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

भूपेन्द्र ओलम्पिक हेर्न युके जादै…

एचकेनेपाल डट कम संवाददाता/ –
काठमाडौं, साउन ३ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमका बीच लण्डन ओलम्पिक हेर्न जान लागेका नेपालका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई औपचारिक विदाई गरेको छ।

एनआरएन यूकेको निमन्त्रणा र नेपाल खेलकुद पत्रकार मञ्चको समन्वयमा सिलवाल आगामी बुधबार लण्डन प्रस्थान गर्नेछन्।

बिबिसी लण्डनका डेस्क सम्पादक सुमन खरेलले सिलवाल बारे नेपाली विविसी सेवामा प्रशारित सामाग्री सुनेपछि सिलवालको लण्डन यात्राको पहल सुरु भएको थियो।

खरेलको पहलमा एनआरएन यूकेले सिलवाललाई लण्डन जाने आउने र बस्ने ब्यवस्था गर्नेभएपछि मञ्चले सिलवालको पासपोर्ट र भिसाको प्रक्रिया अघि बढाएको थियो। बुधबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र खरेलले सिलवाललाई विदाई गरेका थिए।

“हाम्रा अग्रजहरुलाई सम्मान गर्नुपर्छ भनेर हामीले उहाँलाई लण्डन लैजाने कार्यक्रम बनाएका हौं।” खरेलले भने, “यो क्रमले भविष्यमा हाम्रा अन्य अग्रजहरुका लागि पनि अवसरको बाटो खोल्ने आशा गरेका छौं।”

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रधानले ओलम्पिक कमिटीले गर्नुपर्ने काम खेलकुद पत्रकार मञ्च र एनआरएन यूकेले गर्न लागेकोमा कृतज्ञता ज्ञापन गरे। “यहाँ बोलिरहँदा मलाई लाज लागेको छ। यो ओलम्पिक कमिटीले गर्नु पर्ने काम थियो,” प्रधानले भने, “नेपाल खेलकुद पत्रकार मञ्च र एन्आरएन् यूकेले गरेको यो पहलमा हामी सक्दो सहयोग गर्नेछौं।”

नेपाल ओलम्पियन असोसियसनका अध्यक्ष सुनिल जोशी, ओलम्पियनहरु दीपक बिष्ट र संगीना बैद्यको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सिलवालले नेपालले ओलम्पिकमा भाग लिएको आधा शताब्दीपछि फेरी ओलम्पिक हेर्न जान पाएकोमा खुसी ब्यक्त गरे। “यो वर्ष मलाई खेलकुद पत्रकार मञ्चले फेरी चर्चा र अवसर दिलायो। उहाँहरुले मलाई सम्मान मात्र गर्नुभएन, लण्डन पुग्ने अवसर समेत दिनुभयो,” सिलवालले भने।

मञ्चले असार २० गते आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा सिलवाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो। विदाई कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले अग्रज खेलाडीको सम्मान र नयाँ पुस्ताको हौसला बढाउन नेपाल खेलकुद पत्रकार मञ्च सँधै लागि पर्ने बताए। उनले सिलवाललाई लण्डनसम्म लैजान वातावरण बनाउने र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

लण्डनमा एनआरएन युकेले सिलवालको सम्मान गर्ने कार्यक्रम छ भने उहाँलाई लण्डन ओलम्पिकका विशेष समारोहहरुमा सरिक हुने अवसर प्राप्त हुनेछ।

नेपालले पहिलो पटक सन् १९६४ मा टोक्यो ओलम्पिक्समा भाग लिँदा सिलवालले म्याराथनमा भाग लिएका थिए। सिलवालले सन् १९५८ मा टोक्योमा नै सम्पन्न एशियाली खेलकुदमा खाली खुट्टा दौडिएरै सातौं स्थानमा दौड पुरा गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by