रूद्र/नोमराज / एचकेनेपाल डट कम-
पोखरा, २ साउन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनैपनि हालतमा संसदीय व्यवस्था नमान्ने बताएका छन्।
मंगलबार पोखरामा कार्यकर्तासंगको भेटघाटका अवसरमा बोल्दै नेता विप्लवले एकीकृत नेकपा (माओवादी)को नेतृत्व संसदीय भासमा फसेको आरोप लगाउंदै प्रचण्ड बाबुरामले जनतालाई धोका दिएको बताए। उनले जनयुद्ध सुरू गर्दाको समयमा पार्टीले लिएको नीति र एजेण्डा छोड्दै संसदवादी दलहरूसंग सहकार्य गरी एमाओवादी नेतृत्व नवसंशोधनवादमा फसेको उल्लेख गरे।
केही समय अघिसम्म अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुख्य शत्रु भएको दाबी गर्ने प्रचण्ड नै भारतसंग लम्पसार सुतेर मेरो शासन गर्ने आयु बढाइदिनुस् भनेर बिन्ती गर्नुले राष्ट्रिय आत्मर्समर्पणवादको पुष्टि गर्ने नेता विप्लवको भनाइ थियो।
‘बाबुराम सरकारले आफ्नो आयु बढाउनकै निम्ति पछिल्लो समयमा भारतसंग गरेको बिप्पा सम्झौता, अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने जस्ता निर्णयले राष्ट्रिय स्वाधीनता खतरामा पर्यो’ उनले भने।
आफ्ना कार्यकर्तालाई कार्यदिशाका सम्बन्धमा स्पष्ट पार्दै माओवादी नेता विप्लवले भने, ‘उचित समयमा नेकपा-माओवादीको जन्म भएको छ, नेपाली क्रान्ति सम्पन्न गर्नका लागि अब जनताको घरदैलोमा पुग्नुपर्ने बेला आयो।’ राष्ट्रिय स्वाधीनता खतरामा परेको बेला नेपाली जनताले सही नेतृत्व खोजेको उल्लेख गर्दै उनले नेकपा-माओवादी नै नेपाली जनता र राष्ट्रियताको पक्षमा रहेको एक मात्र पार्टी भएको दाबी गरे। उनले जनयुद्धका जगमा जनविद्रोह गर्ने आफूहरूको स्पष्ट कार्यदिशा रहेको बताए। नेकपा-माओवादीको पक्षमा बिस्तारै माहौल बढ्दै गएको दाबी गर्दै नेता विप्लवले पूर्कालीन कार्यकर्ता, जनता र सेनाको बलमा जनविद्रोह हुने बताए।
आफूहरू नै अबको नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूलधार भएको दाबी गर्दै नेता विप्लवले सबै उत्पीडित जनताको मुक्तिका लागि नवगठित नेकपा-माओवादी संर्घषदेखि कहिल्यै पछि नहट्ने बताए। सो अवसरमा उनले कार्यकर्ताहरूलाई जनताका घरदैलोमा पुगेर संगठन विस्तारमा लाग्न निर्देशन समेत दिए।
कार्यक्रममा नेकपा-माओवादीका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज श्याम, सेक्रेटरी प्रभा, कास्की जिल्ला इञ्चार्ज आस्था, सेक्रेटरी रूपेशलगायतको उपस्थिति थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस